कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा बढीका कारण प्रभावित बनेकालाई नगरपालिकाले सोमबार ( आज ) पनि राहत वितरण जारी राखेको छ ।
सोमबार मध्यविन्दु –६ भडारामा ५९ घरपरिवारलाई आवश्यक खाद्यान्न सामग्री चामल , नुन तेल , चिउरा दाल र लत्ताकपडा वितरण गरिएको छ । नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु २ सेहरीमा बढी प्रभावित बनेको बताउँदै नगरपालिका र विभिन्न संघसंस्थाद्धारा राहत वितरणका लागि समन्वय गर्ने कार्य भइरहेकोले त्यहाँ पनि राहत वितरण गरिने बताउनुभयो । यसैगरी मध्यविन्दु १५ मा पनि राहत वितरण गरिने अधिकारीले बताउनुभयो ।
मध्यवन्दु नगरपालिकामा बाढीले प्रभावित भएका नागरिकलाई आइतबार ( हिजो ) पनि नगरपालिका सहित विभिन्न संघसंस्थाको पहलमा राहत वितरण गरिएको थियो । यसैगरी नगरपालिकाले प्रभावित नागरिकलाई स्थलगत स्वास्थ्य उपचार समेत प्रदान गरेको छ ।
मध्यविन्दु नगरपालिकाले एकद्धारा प्रणली मार्फत राहत सामग्री वितरण सुरु गरेको छ । नगर प्रमुख भिमलाल अधिकारी , उपप्रमुख पूर्णकला चौधरी , वडा अध्यक्षहरु , सदस्यहरु र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि समेतको सहभागितामा डुबानमा परेका नागरिकलाई उद्धारका लागि रातदिन खटिएका थिए भने हिजोबाट राहत वितरण गर्ने कार्य जारी राखिएको छ ।
नगर प्रमुख भिमलाल अधिकारीले जो घरपरिवार बढी प्रभावित छन् उनीहरुलाई प्राथमिकतामा राखेर काम गरेको र सबैलाई क्रमशः राहत वितरण गरिने बताउनुभएको छ ।