कावासोती । नवलपुरका विभिन्न स्थानमा बाढीका कारण डुबानबाट प्रभावित भएका नागरिकलाई खाद्य सामग्री , स्वास्थ्य उपचार तथा शुद्ध पिउने पानीको व्यवस्थापन गर्न स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाहरू लागेका छन् ।
मध्यविन्दु नगरपालिकाले एकद्वारा प्रणाली मार्फत राहत सामग्री वितरण गर्न अनुरोध गर्दै आइतबार बिहानैबाटै नगर प्रमुख भिमलाल अधिकारी , उपप्रमुख पूर्णकला चौधरी , वडा अध्यक्षहरू , सदस्यहरू र विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि समेतको सहभागितामा राहत वितरण गर्ने कार्य जारी राखेको छ । यहाँ मध्यविन्दु नगरपालिका –२, सितापुर र सेरीका दुई सय घर डुबानमा परेका छन् । मध्यविन्दुकै वडा नम्बर –६ भडराका दुई सय घर र वडा नम्बर –१५ ,का १८ घर डुबानमा परेको छ । डुबानका कारण एक हजार नौ सय ३७ जना प्रभावित भएको जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क छ ।
डुबानबाट प्रभावित भएका परिवारलाई खाद्यान्न सामग्री लत्ताकपडा, ग्यास चुलो र स्थलगत स्वास्थ्य उपचार सेवा समेत प्रदान गरिएको छ । मध्यविन्दु नगरपालिका , रेडक्रस, नागरिक आवाज, नन्दभाउजु मध्यवर्ती उपभोक्ता समूह लगायतका सङ्घसंस्थाहरू राहत वितरणमा जुटेका छन् । यस्तै मध्यविन्दु–६ मा पिउने पानी दुषित भएपछि नारायणी सह लगानी खानेपानी संस्थाले निशुल्क धारा जडान गर्ने कार्य समेत गरेको छ ।
नगर प्रमुख भिमलाल अधिकारीले बाढीका कारण मध्यविन्दुमा धेरै नोक्सान बेहोर्नु परेको भन्दै राहत वितरणमा एकद्वार प्रणी मार्फत वितरण गर्न अनुरोध गर्दै व्यवस्थापनमा सबैलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले वर्षा अझै पनि आउन सक्ने हुँदा सतर्क रहन अनुरोध गर्दै राहत वितरणमा जो घरपरिवार बढी प्रभावित छन् उनीहरूलाई प्राथमिकतामा राखेर काम गरेकोले मैले पाएन उनीहरूले पाए भन्ने जस्ता सङ्कोच मनमा नराख्न प्रभावित भयका परिवारलाई आग्रह समेत गर्नुभएको छ । उहाँले सबैलाई क्रमशः राहत वितरण गरिने र तत्कालका लागि जसको घरमा बस्न सक्ने अवस्था छैन त्यस्ता परिवारलाई विभिन्न विद्यालयमा बाँडिएर राख्ने व्यवस्था गरिएकोले त्यसै अनुसार सबैले मिलेर रबस्न र मेसमा खाना पकाएर खाने व्यवस्था गरेकोले सोही अनुसार काम गर्न पनि अनुरोध गर्नुभएको छ ।