बाढीका कारण नवलपुरमा कृषि बालीमा ठूलो क्षति

बाढीका कारण नवलपुरमा कृषि बालीमा ठूलो क्षति

नवलपुर ।  अविरल वर्षासँगै आएको बाढीका कारण नवलपुरमा कृषि बालीमा ठूलो क्षति पुगेको छ ।
बाढी पस्दा नवलपुरको बिनयी त्रिवेणी गाउपालिका एक बगुबनमा धान खेतिमा क्षति पुगेको छ ।
नारायणी नदी र बिनयी खोलाको बाढीले यस क्षेत्रमा २ सय ५० विगाहा क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुगेको हो ।
बाढी पसेर पाकिसकेको र पाक्न लागेको धान बालीमा क्षति पुगेको हो । स्याहार्ने बेलामा धान बालीमा पानीले क्षति पुर्याएपछि किसानहरु चिन्तीत भएका छन् ।
स्थानीय भिम वहादुर सोमैले बालीले डुबान गरेर धान बाली सबै ढलेर सोत्तर बनेको बताउनुभएको छ । स्याहार्ने बेलामा पाक्न लागेको धान सबै सोत्तर भएपछि चाडपर्वको मुखमा के खाने भन्ने चिन्ताले सताएको उहाँले बताउनुभयो ।
वर्षासँगै आएको बाढीका कारण गैँडाकोट, कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो ।
नवलपुरमा अनुमानित सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो ।
कतिपय काट्ने तयारीमा रहेको धानबालीमा समेत क्षति पुगेको छ । नारायणी नदि तटीय क्षेत्रका बस्तीहरु सेहरी, नन्दपुर, सितापुर,भुताह, बगुवन ,प्रसौनी लगायतका क्षेत्रमा धेरै क्षति पुगेको तिवारीले जानकारी दिनुभयो । वर्षासँगै आएको बाढीले खेत पुरै डुबान भएकाले यि क्षेत्रमा धानबाली पूर्ण रुपमा नोक्सान हुने अवस्था रहेको उहाँले बताउनुभयो ।
ज्ञान केन्द्रले आइतबार ( आज ) देखि जिल्ला भर भएको क्षतीको लगत संकलन सुरु गरेको छ । ‘प्रारम्भिक रुपमा सात सय हेक्टर भन्दा धेरै क्षेत्रफलको धानबाली नोक्सान भएको पाएका छौं, हामी तत्कालनै सबै क्षेत्रको कृषि बालीमा पुर्याएको क्षतिको विवरण संकलन गछौं, धानबालीमा पुगेको क्षति बढ्न पनि सक्छ’ कृषि ज्ञान केन्द्र प्रमुख तिवारीले भन्नुभयो ।
अविरल वर्षासँगै आएको बाढीले जिल्लाका माछा पोखरीमा समेत ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख तिवारीले बताउनुभयो । नवलपुरको नदि तटीय क्षेत्रमा धेरै पोखरीहरु रहेको र उक्त क्षेत्रमा बाढीले धेरै असर पारेकाले सबै जसो कृषकको पोखरीमा क्षति पुगेको उहाँको भनाई छ । बाढीले पोखरीका माछा बगाएर क्षति पुगेको उहाँको भनाई छ । यसै गरि केरा तथा अन्य बालीमा समेत वर्षाले क्षति पुर्याएको उहाँले बताउनुभयो ।
मध्यविन्द–१२ तमासपुरमा रहेको संस्कार ह्याचरीमा मात्रै २२ हजार ब्रोईलर कुखुरा मरेका छन् । मध्यविन्दु ५ निवासी चोलाकान्त काफ्ले र मध्यविन्दु १२ निवासी युवराज काफ्लेले संयुक्त रुपमा सञ्चालन गरेको उक्त फार्ममा बाढीले डुबान भएर, बगाउँदा कुखुरा मरेका हुन् । कुखुरा मर्दा १ करोड ५० लाख बढीको क्षति भएको व्यवसायीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस