नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट –२, स्थित सुकुम्बासी बस्तीमा नारायणीको बाढी पसेको छ । अविरल वर्षासँगै नारायणी नदिको जल सतह बढ्दा गैँडाकोट –२, स्थित सुकुम्बासी बस्तीमा बाढी पसेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले बताउनुभयो ।
सुकुम्बासी वस्तीमा बाढी पसेसँगै सो क्षेत्रका करिब ६० घरपरिवार बिस्थापित भएका छन् । बिस्थापित भएका घरपरिवारलाई नजिकै रहेको महेन्द्र स्मारक विद्यालयमा राखिएको प्रहरी निरीक्षक नरालले बताउनुभयो । उक्त बस्तीमा रहेका सबै मानिसलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । उक्त क्रममा स्थानीयले घरमा रहेका हलुका सामान समेत सुरक्षित स्थानमा सारेकाछन् ।
नारायणीको बाढीको सतह बढेसँगै गैँडाकोट ९ र १० मा समेत डुबान भएको छ । उक्त क्षेत्रमा डुबान भएसँगै उद्धारको काम चलिरहेको प्रहरी निरीक्षक नरालले बताउनुभयो । अहिले सम्म कुनै मानवीय क्षति नभएको उहाँको भनाई छ । तीनवटा वडाका विभिन्न क्षेत्र बाढीले प्रभावित भएको छ । बाढीका कारण प्रभावित हुनेको सङ्ख्या अझै यकिन नभएको उहाँले बताउनुभयो । पहिलो चरणमा अहिले सुरक्षित स्थानमा सार्ने काम भइरहेकोले उद्धार पछि कति प्रभावित भएभन्ने लगत सङ्कलन हुने उहाँको भनाई छ ।