नवलपुर । ४५ औँ विश्व पर्यटन दिवस ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसको अवसरमा नवलपुरको अमलटारीमा पर्यटन बसको उद्धघाटन गरिएको छ । नवलपुर पर्यटन समितिले पर्यटक लक्षित गरि अमलटारी देखि काठमाण्डौंसम्मका लागि दैनिक दुईवटा बस संचालन गर्ने गरि उक्त बसको आज उद्धघाटन गरिएको छ । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उक्त बसको आज उद्धघाटन गर्नुभएको हो ।
दैनिक बिहान अमलटारीबाट एउटा बस र काठमाण्डौंबाट अर्को बस छुट्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । अमलटारी सहित नवलपुरका क्षेत्रमा आउन चाहने पर्यटकको सुविधिका लागि बस संचालन गरिएको उहाँले बताउनुभयो । बिहान अमलटारीबाट आठ बजे र काठमाण्डौंबाट समेत बिहान आठ बजे बस छुट्ने छ । बसको टिकटका लागि ९८६४५२६०९० मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो ।
अमलटारीबाट संचालनमा आएको बसको टिकट नवलपुर पर्यटन समितिको कावासोती–१५, मा रहेको कार्यालयबाट काटिने समितिका सल्लाहकार धनिराम गुरौले बताउनुभयो ।
पर्यटन बस उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसालले नवलपुरमा आएका पर्यटकको बसाई लम्बाउने गरि एकिकृत रुपमा योजना तयार पार्नुपर्ने बताउनुभयो । उहाँले नवलपुरमा रहेका पर्यटकिय क्षेत्रहरुलाई जोडेर पर्यटक सर्किट निर्माण गर्न सके यहाँको पर्यटनको थप विकास हुने बताउनुभयो । जिल्लाको त्रिवेणी, अमलटारी, हुँदै देवचुली पहाड लगायतका पर्यटकीय क्षेत्रलाई जोड्ने गरि कार्यहरु गर्नुपर्ने बताउनुभयो ।
कालिगण्डकी सभ्यातासँग जोडेर नदि तटिय क्षेत्रका स्थल, मध्यवर्ती क्षेत्र र यहाँका वन्यजन्तु पर्यटनका प्रचुर सम्भावना भएको क्षेत्र रहेको उहाँको भनाई थियो । आदिवासी थारु समुदायको सस्कृति र सभ्यता समेत यहाँको पर्यटन विकासका आधार भएको भन्दै सबैले हातेमालो गर्दै जिल्लाको पर्यटन क्षेत्रको थप विकासमा जुट्नुपर्ने उहाँले बताउनुभयो ।कावासोतीको अमलटारीबाट पर्यटन बस संचालनमा आएकोमा उहाँले सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख टेक बहादुर मौनीले पर्यटन क्षेत्र हिजो आज घुमफिर मात्रमा सिमित नभएर अन्य धेरै विषयसँग जोडिदैँ गएको बताउनुभयो । यस वर्षको नारा ‘पर्यटन र शान्ती’ ले समेत यसलाई थप जोड दिएको बताउनुभयो । उहाँले पर्यटन दिवस मनाइरहँदा यसको महत्व र क्षेत्र थप विस्तार हुँदै गएको बताउनुभयो । नेपाल आफैमा पर्यटकीय गन्तव्यका रुपमा चिनिदै गएपनी पर्यटन पूर्वाधारको विकास भने त्यती हुन नसकेको बताउनुभयो । नवलपुरको हकमा यहाँका पर्यटकी क्षेत्रको क्रमश विकास हुँदै गएको उहाँको भनाई थियो ।
घरबास एसोशियसन नेपालका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनिया थारुले नवलपुरलाई अमलटारीले चिनाउने गरेकोमा यहाँ पर्यटन बस संचालनमा ल्याउनु महत्वपूर्ण सुरुवात भएको बताउनुभयो । अमलटारी सहित जिल्लामा पर्यटकीय गतिविधि बढ्दै गएको भन्दै यसको थप विकासमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । वन्यजन्तु र संस्कृति यहाँको प्रमुख पर्यटनको आधारका रुपमा रहेको मर्दनिया थारुले बताउनुभयो ।
कावासोती दशका वडा अध्यक्ष टेक नारायण महतो, पन्ध्रका अध्यक्ष तेजकुमार श्रेष्ठ लगायतले बोल्दै पर्यटनलाई जोड्ने यातायात समेत भएकाले पर्यटन बस संचालन हुनु नयाँ आयाम भएको बताएका थिए । यो क्षेत्रकै लागि महत्वपूर्ण सुरुवात भएको उनिहरुले बताएका थिए ।
नवलपुर पर्यटन समितिको आयोजना तथा कावासोती नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, घरबास एसोशियसन गण्डकी प्रदेशको सहकार्यमा भएको पर्यटन बस उद्धघाटन , वृक्षरोपण , शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता फन्सराम महतोले गर्नुभएको थियो भने कार्यक्रमको संचालन धनिराम गुरौले गर्नुभएको थियो । कार्यक्रममा समितिका सल्लाहकार बुद्धिसेन चौधरीले स्वगत मन्तव्य राख्नुभएको थियो ।