कावासोती । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना विषयक अभिमुखीकरण कार्यक्रम नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बिहीबार सम्पन्न भएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाको आयोजना तथा नागरिक आवाज र द्धन्द्ध पीडित महिला सञ्जाल नवलपुरको समन्वयमा कार्यक्रम भएको हो ।
स्थानीय समिति तथा जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण प्रदान गरिएको हो ।
द्धन्द्ध पीडितहरूको लागि काम गर्दै आउनुभएकी कार्यक्रम संयोजक नर्मदा पाण्डेले दोश्रो राष्टिय कार्ययोजनाले निर्देशित गरेका कार्यहरू सम्पन्न गर्नका लागि स्थानीय तहमा स्थानीय समिति तथा आवश्यकता पहिचान उपसमितिहरू बनाउने कार्यमा आफूहरू लागेको बताउनुभयो । उहाँले बिनयी त्रिवेणी सहित जिल्लाका पाँच वटा पालिकामा कार्यक्रम सम्पन्न भएको र बाँकी रहेका पालीकामा पनि हुने जानकारी दिनुभयो ।
उहाँले दश वर्षे सशस्त्र द्धन्द्धका क्रममा यौनजन्य हिंसामा परेका महिलाहरूको न्याय र उनीहरूको सशक्तिकरणको लागि सरकारबाट कुनै पनि प्रकारको पहल हुन नसकेको गुनासो गर्नुभयो । अझै पनि धेरै द्धन्द्ध पीडितहरू खुलेर बाहिर आउन नचाहेको त्यसमा पनि यौनजन्य हिंसामा परेकाहरू भ्mनै लुकेर बसेको अवस्था रहेको जिकिर गर्नुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले १० वर्षे द्धन्द्ध सकिएर शान्ति प्रकृयाबाट देशमा धेरै परवर्तन आएपनि अझैसम्म पनि द्वन्द्व प्रभावितहरूको हक अधिकारको लागि उचित कार्यहरू हुन नसकेको बताउनुभयो । सरकारले दोश्रो राष्ट्रिय कार्ययोजना मार्फत केन्द्र देखि स्थानीय तहसम्म कै विभिन्न संरचनाको निर्माण गरेर काम गर्न थालेको यो प्रयासले अब पक्कै पनि द्धन्द्ध प्रभावितहरूको हक अधिकार सुनिश्चित हुनेमा आशा लागेको बताउनुभयो । उहाँले आफ्नो पालिकाको तर्फबाट गर्न सकिने सबै प्रकारका पहल गर्न तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले विनयी त्रिवेणी गाउँपालिकामा ३९ घरपरिवार द्वन्द्वपीडित रहेको बताइएको छ । द्वन्द्वपीडित मध्ये सहिद १५ जना, बेपत्ता २ जना, यातना ,अपहरण १९ जना रहेको सञ्जालको तथ्याङ्कमा उल्लेख गरिएको छ । जीवननिर्वाह भत्ता अपाङ्गताको आधारमा १ जना रहेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष भगवती बैदवार , वडा अध्यक्ष तथा सदस्यहरू , कार्यपालिका सदस्यहरू , कार्यालयका विभिन्न शाखामा आबद्ध कर्मचारी ,प्रभावित परिवारका प्रतिनिधि तथा सरोकारवाला समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता भुपेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० पृष्ठभूमि र महत्व, महिला, शान्ति र सुरक्षासँग सम्बन्धित प्रस्ताव नं १३२५ जोड दिएका प्रमुख विषयहरू, नागरिक समाजको भूमिकाहरू र सङ्क्रमणकालीन न्यायका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।