गाउँमै फलाम खानि भेटिएपछि स्थानियकोलागि रोजगारिको सिर्जना मात्र नभई सिंगो देशकै झण्डै २५ प्रतिशत फलाम आयात रोकिने भनिएपनि लामोसमयवितसक्दा समेत उत्खनन सुरु नहुँदा स्थानिय निराश बनेका हुन् ।
“केन्द्रिय तहका नेता, मन्त्री आउँछन्, छिट्टै खानि उत्खनन् हुने गफ लगाएर जान्छन्” स्थानिय दान बहादुर सोमै मगरले भन्नुभयो, “उत्खनन् सुरु हुने त परको कुरा, खानिको वरिपरि रहेका हामिहरुलाई कहाँ व्यवस्थापन गर्ने हो भन्ने पनि अझै निधो छैन ।”
नेपालको खानि तथा भुगर्भ विभागले ४ वर्षको समय लगाएर अध्ययन गरेपछि नवलपरासि वर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ५ मा अवस्थित धौवादी डाँडामा ठूलो मात्रामा फलाम खानि भएको पत्ता लगाएको थियो ।
अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) नै नभएकोले उत्खनन् पछि कति परिवार विस्थापित हुने हो ? भन्ने तथ्याङ्क नरहेको पालिकाले जनाएको छ । गाउँपालिका महासंघ अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले फलाम उत्खनन गर्न स्थानीयले कुनै अवरोध नगर्ने बताउनुभएको छ ।
उहाँले पालिका एवं स्थानियको पनि यसमा प्रत्यक्ष संलग्नता हुनुपर्ने भन्दै खानीमा आवश्यक जनशक्तिमा स्थानियलाई नै प्राथमिकता दिईनुपर्ने र कम्पनीको मुख्य कार्यालय पनि हुप्सेकोट क्षेत्रमै स्थापना गरिनुपर्ने माग समेत राख्नुभएको छ ।
पूर्व–पश्चिम राजमार्गको डन्डा बजारबाट २७ किलोमिटरको दुरिमा पर्ने धौवादिको झण्डै १० किलोमिटर क्षेत्रफलमा फलाम रहेको भेटिएपछि सरकारले २०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी स्थापना गरेको थियो । कम्पनिले स्थापनको ५ वर्ष वितिसक्दा समेत विभिन्न प्रक्रियाहरु बाँकि रहेकोले उत्पादन सुरुगर्न अझै ३ वर्ष भन्दा बढि समय लाग्ने कम्पनीले बताएको छ ।
धौवादी फलाम कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक बहादुर चन्दका अनुसार केहि समय अगाडि मात्र फलाम उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएको छ ।
सो अध्ययनबाट फलाम एवं स्टिल उत्पादन गर्न आर्थिक र प्राविधिक रूपमा सम्भव देखिएकोले अब इआइए र विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि उत्पादनतर्फ लागिने सिईओ चन्दले बताउनुभएको छ ।
उहाँले कम्पनिकालागि आवश्यक उपकरणहरु खरिदमा नेपाल सरकारको सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर गर्नुपर्ने हुँदा उक्त प्रक्रियामा कुनै समस्या नआएमा आउँदो २०८४ सालको अन्त्य वा २०८५ को सुरुवात सम्ममा उत्पादन सुरु गर्न सकिने बताउनुभएको छ ।
अध्ययनले परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड रूपैयाँ लाग्ने प्रक्षेपण गरेको छ । त्यस्तै अध्ययनका क्रममा उक्त खानीमा करिब १५ करोड टनभन्दा बढी कच्चा फलामको भण्डार भएको देखिएको छ ।
अहिले भारतबाट फलाम आयात भइरहेकोमा यहीँ फलाम उत्पादन भएपछि २५ प्रतिशत सम्म व्यापार घाटा कम गर्न सकिने चन्दको भनाई छ ।
सिईओ चन्दले अहिले प्राविधिक सहजताकोलागि काठमाण्डौमा कम्पनि कार्यालय स्थापना गरिएको भन्दै केहि समय भित्रै हुप्सेकोट गाउँपालिकामै कम्पनिको कार्यालय स्थापना गर्नेगरि छलफल भैरहेको पनि बताउनुभएको छ ।