कावासोती । कावासोती नगरपालिका वडा नम्बर चारमा आइतबारदेखि एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु भएको छ ।
तालिमको एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख विष्णु प्रसाद भुसालले उद्घाटन गर्नुभयो । उद्घाटनमा बोल्दै उहाँले स्वदेशमै केही गर्नका लागि युवाहरूलाई प्रोत्साहन गर्न नगरपालिकाले सीप मूलक तालिम प्रदान गरेको बताउनुभयो । उहाँले तालिम पश्चात सिकेको सीपलाई सकेसम्म आफ्नै गाउँ ठाउँमा प्रयोग गरेर आयआर्जनमा जोडिन सहभागीलाई अनुरोध गर्नुभयो ।
यस्तै वडा अध्यक्ष नारायण प्रसाद लोहनीले वडाले प्रतेक वर्ष लक्षित वर्गका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिदैँ ड्राइभिङ तालिम सुरु गरिएको बताउनुभयो । विषेश गरेर युवा वर्गलाई स्वरोजगार बन्ने अवसर सृजना होस भन्ने उद्देश्यले यस तालिमको आयोजना गरेको उहाँले बताउनुभयो ।
तालिममा वडाभित्रका युवा , तथा लक्षित वर्ग समेत गरेर १३ जना सहभागि रहेका छन् । जसमा दुई जना महिला छन् ।
प्रबिनको पुरानो ड्राइभिङ सेन्टरले प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
उद्घाटन कार्यक्रममा वडा सदस्यहरू , स्थानीय सरोकारवाला तथा प्रबिनको पुरानो ड्राइभिङ सेन्टरका प्रविन सापकोटा लगायतको सहभागिता रहेको थियो ।