जिल्ला अस्पताल पन्ध्र शय्यामा सिमित, बिरामीलाई सेवा लिन समस्या

जिल्ला अस्पताल पन्ध्र शय्यामा सिमित, बिरामीलाई सेवा लिन समस्या

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित बन्दा बिरामीले समस्या झेल्नु परेको छ । विस २०७५ सालमा सामुदायिक रुपमा सञ्चालित अस्पताललाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले पन्ध्र शय्याको जिल्ला अस्पताल कायम गरेको थियो । त्यस यता अस्पतालमा बिरामीको चाप निक्कै बढेको छ । तर अस्पतालको स्तरोन्नती भने नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल रेकर्डर हेरम्ब आचार्यले बताउनुभयो ।
अस्पताल प्रशासनले बिरामीको चाँप बढेपछि हाल ७८ शय्या सञ्चालन गरेको छ । तर स्वीकृत दरबन्दी पन्ध्र शय्याको मात्र हुँदा जनशक्ति अभावको समस्या पेचिलो बनेको आचार्यले बताउनुभयो । ‘जिल्ला अस्पताल भनेपछि बिरामीको चाँप दिनानुदिन बढेको छ, हामी बाध्यताले शय्या थप गरि चलाएका छौ, जनशक्ति कम छ, पूर्वाधार र संरचनाहरू उस्तै छन्’ आचार्यले भन्नुभयो । अहिले नगर अस्पतालनै पन्ध्र शय्यामा चल्दै गर्दा जिल्ला अस्पताल समेत सोही बराबरको स्वीकृतिमा चल्नुपरेको उहाँले बताउनुभयो ।
अस्पतालमा उपचारका लागि आउनुभएका अरुणखोलाका गुणाखर गिरीले अस्पतालमा सामान्य जाँचका लागि पनि दिनभर बिताउनुपर्ने अवस्था रहेको बताउनुभयो । टिकट काट्न देखि चिकित्सकलाई देखाउन धेरै समय लाग्ने गरेको र ल्याबमा जाँच गराएको रिपोर्ट प्राप्त गर्न उस्तै समस्या रहेको उहाँको भनाई छ । ‘ जरो आएर जिल्ला अस्पतालमा डाक्टर खोज्दै आउँदा दुख पाइयो, झन बिरामी भइएला जस्तो भयो’ उहाँले भन्नुभयो । जनशक्ति थप गरि सेवालाई प्रभावकारी बनाउन कदम चाल्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला अस्पतालमा हाल दैनिक सरदर ४ सय बिरामीले सेवा लिने गरेकाछन् । मध्यविन्दु जिल्ला अस्पतालाई पचास शय्यामा स्तरोन्नति गर्ने पहल भइरहेको छ । तर लामो समय सम्म गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपु¥याउँदा अस्पतालमा समस्या थपिंदै गएको छ । अस्पतालमा हाल करिब विभिन्न क्षेत्रका गरि १ सय ५५ जना कर्मचारी रहेका छन् । अस्पताल समितिले जेनतेन अस्पताल सञ्चालन गरिरहेको छ । ५० शय्यामा स्वीकृत भए जनशक्ति प्रदेशबाट थप हुने र सेवा दिन सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश प्रसाद आचार्यले बताउनुभयो । हाल अस्पतालमा स्वीकृत दरबन्दी जम्मा ३१ जनाको मात्र रहेको उहाँले बताउनुभयो । अरु करार र विभिन्न कार्यक्रम तर्फका कर्मचारीले अस्पताल चलाउनुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।
शय्या थप नहुनु एउटा समस्या सँगै मध्यविन्दु जिल्ला अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । १० दशमलब ४९ हेक्टर जमिन अस्पतालले उपभोग गर्दै आएको भएपनि २ दशमलब ५ हेक्टर मात्र पूर्ण स्वामित्वमा रहेको छ । बाँकी जमिन भोगाधिकारका लागि पहल भइरहेको भएपनि अस्पतालको नाममा आउन सकेको छैन । यसले गर्दा कुनै दातृ निकायबाट आउने सहयोग समेत प्राप्त गर्न समस्या भइरहेको मेडिकल रेकर्डर आचार्यले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस