कावासोती । नवलपुरको कावासोती १२ मा शनिबार आयोजना भएको हिड्दै फोहोर टिप्ने ( प्लगीँग वाकाथन) प्रतियोगितामा ४५ मिनेटको अवधीमा एक क्वीन्टल फोहोर संकलन भएको छ ।
नवलपुर जिल्लामा नै पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा वडाभित्रका चार वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अन्य व्यक्तिहरुले भाग लिएका थिए । पिठौली चोकदेखि स्वास्थ्यचौकी चोक हुँदै एकादशी मेला लाग्ने स्थल र नारायणी किनार हुँदै नुहाउनेघाटसम्मको क्षेत्रफलमा मात्रै सहभागिहरुले एक क्वीन्टल फोहोर संकलन गरेका हुन् ।
उक्त प्रतियोगितामा वाईज भिजन ई स्कुलका सुजल महत्तोले ७.५ केजी फोहोर संकलन गरी प्रथम, वाईज भिजन ई स्कुलकै चन्दन गुरुङले ५.७ केजी फोहोर संकलन गरी दोस्रो र वाईज भिजन ई स्कुलकै कविर घिमिरले ५.६ केजी फोहोर संकलन गरी तृतिय स्थान हासिल गर्न सफल हुुनुभएको थियो । कार्यक्रममा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद तीन हजार , दुई हजार , एक हजार र थप ७ जनालाई नगद पाच सय नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै अन्य ७ जनालाई समेत जनही पाँच सय नगद उत्प्रेरणा स्वरुप हस्तान्तरण गरिएको थियो ।
साथै आज नै वडा भित्र रहेको चार वटा विद्यालयहरुलाई फोहोरहरु संकलनको लागि वडाबाट डस्टविन समेत हस्तान्तरण गरिएको थियो ।
कावासोती नगरपालिका वडा नं. १२ को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपाल, द गार्डेन अफ होप फाउन्डेसन, एसियन गल्र्स अभियान ,डायमण्ड युथ सोसाइटी , पिठौली चौर युवा समितिलगायतका अन्य संघसंस्थाको समन्वयमा प्रतियोगिताको आयोजना गरिएको हो ।
कावासोती १२ का अध्यक्ष धु्रव खनाल – दिपेश ) को अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले नवलपुरमा यस प्रकारको नयाँ किसिमको कार्यक्रम गरेकोमा आयोजकलाई धन्यबाद दिँदै यस प्रतियोगिता मार्फत् वातावरण स्वच्छ राख्दै आफू पनि स्वस्थ रहनका लागि उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।
कार्यक्रमको अवधारणा ल्याउनुहुने किशोरी अभियन्ता सवनम सुनारले बाताबरण संरक्षण र आफ्नो फोहोरको जिम्मेवारी आफुलै नै बहन गर्नुपर्ने कुरा सिकाउनको लागि यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेपालमा र विश्वका धेरै देशहरुमा सन्देशको लागि यस्ता खालका कार्यक्रमहरु सञ्चालन भएको देखेको तर नवलपुरमा नभएकोले यसको लागि युवाहरु र स्वयम बालबालिकाहरुले पनि नेतृत्व लिनुपर्छ भन्ने भावनाले वडासँग समन्वय गरेको सुनारले बताउनुभयो । उहाँले ताईवानमा प्रत्येक वर्ष हुने एसियन गल्र्स अभियानमा २०२४ मा नेपालबाट छनौट भएपश्चात यो कार्यक्रमको अवधारणा पेश गरेको र यसरी अन्य सरोकारवालाहरुसँग मिलेर गर्न पाँउदा यसको सान्दर्भिकता र महत्व बढेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कावासोती १२ का अध्यक्ष ध्रुव खनाल(दिपेश) ले पिठौली क्षेत्र नारायणी नदी बग्ने धार्मिक क्षेत्र भएको र नदी पारि निकुञ्जबाट विभिन्न वन्यजन्तु समेत चर्नका लागि आउने हुँदा जथाभावी फालिएका फोहोरले असर गर्ने बताउनुभयो । वडामा सरसफाइका कार्यक्रमहरु ीनरन्तर हुँदै आएको तर प्रतियोगिताकै रुपमा यस कार्यक्रम गरेर सकारात्मक सन्देश दिन खोजिएको बताउनुभयो । उहाँले वातावरण स्वच्छ रहेमा मानिसको स्वास्थ्य समेत स्वस्थ्य रहने हुँदा जथाभावी फोहोर नफाल्न र घरआगन र आफ्नो वरपरको वातावरण सफा रा राख्नका लागि समेत सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागि भएर सफल बनाइदिने सबैमा उहाँले धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा वडा भित्रका जनप्रतिनिधीहरु, विभिन्न क्लवका प्रतिनिधीहरु, टोल विकास समितिका पदाधिकारीहरु, विद्यालयका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।