कावासोती । थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा कावासोती १२ राजमन्दिर खेल मैदानमा आजबाट सेन्ट्रल कलेज चौथो जितिया कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रोशन बहादुर गाहाले उद्घाटन गर्नुभयो । रेफ्रीलाई बल हस्तान्तरण गर्दै उहाँले खेलको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनमा सम्बोधन गर्दै नवलपुरमा महिला फुटबलका खेलाडीहरूले राम्रो खेल खेल्ने गरेको र सफलता हासिल गर्दै आएको बताउनुभयो । महिलाहरू पनि खेल क्षेत्रमा अब्बल छन भन्ने सन्देश नवलपुरले दिन सफल भएकोमा गर्व लागेको बताउनुभयो । नवलपुर जिल्लाका महिला खेलाडीहरूको प्रस्तुती गण्डकी प्रदेशमै निकै राम्रो रहको उहाँको भनाई थियो । जितियाको अवसरमा महिला खेलाडीहरूलाई अग्रसर गराउनका यसरी प्रतियोगिता आयोजना हुनु राम्रो पक्ष रहेको र यसले निरन्तरता पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
खेल संयोजक रण बहादुर थनेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कावासोती १२ का अध्यक्ष धु्रव खनाल ( दिपेश) ले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कावासोती १२ ले खेल क्षेत्रको विकासका लागि निरन्तर रुपमा यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो । उहाँले महिला खेलाडीहरूको हौसला बढाउनका लागि खेलको अवलोकन गर्न सबैमा अनुरोध समेत गर्नुभयो ।
कावासोती वडा नम्बर दुईका अध्यक्ष शिव पाण्डे , तीनका अध्यक्ष डोरमान गिरी , १० का अध्यक्ष टेक नारायण महतो , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन , सामाजिक व्यक्तित्वहरू गोपाल खनाल , डासुराज पोख्रेल लगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा दिपक शर्माले सहजीकरण गर्नुभएको थियो ।
यसैबीच आज भएको उद्घाटन खेलमा भरतपुर २३ जगतपुर फुटबल क्लब विजयी भएको छ ।
नवलपुर फुटबल क्लब र चितवनको भरतपुर २३ जगतपुर फुटबल क्लब बीच प्रतिस्पर्धा भएको थियो । भरतपुर २३ जगतपुर फुटबल क्लबले नवलपुर फुटबल क्लबलाई दुई शुन्यको गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद , दोश्रो हुनेले ३५ हजार नगद र तेश्रो र सान्त्वना हुने टिमलाई दशदश हजार नगद , शिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।
प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।