दिपेन्द्र रेग्मी , कावासोती । दोश्रो राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज कावासोति नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थिहरु , खेलाडीहरुलाई लाई सम्मान गरिएको छ ।
नवलपुरको कावासोति नगरपालिकाद्धारा आयोजित पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा नगरपालिका भित्र सञ्चालनमा रहेका मध्ये कक्षा ५, कक्षा ८, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरु सहित उत्कृष्ट विषय शिक्षक र विद्यार्थिहरुलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कावासोति नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालले अध्यक्षता गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख फुलकुमारी थनेत, प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, सामाजिक विकास कार्यालयका कृष्ण पौडेल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सेत बहादुर पुन लगायत विभिन्न वडाध्यक्ष एवं शैक्षिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । विभिन्न विधामा पुरस्किृत उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थिलाई नगरपालिकाले नगद सहित प्रसंसा पत्रले सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाहाले नगर विकासको प्रथम मेरुदण्ड नै शिक्षा रहेको भन्दै, जिल्लाको सदरमुकाम समेत रहेको कावासोति नगरपालिकालाई अन्य पालिकाको भन्दा फरक र उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेर देखाउनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा सन्तोष जनक रहेपनि यसैलाई अन्तिम उपलब्धि ठान्न नहुनेमा सचेत गराउनुभएको थियो ।
राष्ट्रिय शिक्षा दिवसको उपलक्षमा नगर ,राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड , केन्द्रीय ,प्रदेश स्तरीय राष्ट्रिय प्रतियोगिता पदक प्राप्त खेलाडी हरुलाई नगद रु ३०००१ र प्रमाण पत्रले सम्मान गरेको छ ।
कार्यक्रमको सहजिकरण नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेलले गर्नुभएको थियो ।