कावासोती । कावासोती नगरपालिकाभित्र रहेका माछामासु पसलबाट सडेगलेका र खान योग्य नभएको मासु जफत गरि नष्ट गरिएको छ ।
कावासोती नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय नवलपुरले संयुक्त रुपमा गरेको अनुगमनमा कावासोती बजार र हसौराको मासु पसलबाट सडेगलेको तथा खान योग्य नभएको मासु जफत गरिएको थियो ।
कावासोती दुई फलफू चोकको गढिमाई माछा पसल र लक्ष्मी माछा पसलबाट .२२ किलो सडेगलेको माछा जफत गरिएको थियो भने हसौरामा रहेको कानुङ मासु पसलबाट साढे १९ किलो राँगाको मासु जफत गरिएको हो ।
बङगुर र राँगाको मासु एउटै फ्रिजमा राखिएको पाइएपछि मासु जफत गरिएको हो ।
एउटा फ्रिजमा एक प्रकारको मासु राख्न पर्ने , धेरै प्रकारका मासु राख्दा स्वास्थ्यमा असर पर्ने हुँदा त्यसरी राख्न नहुने भएकाले सचेत बनाउन मासु जफत गरिएको अनुगमन संयोजक डा. टेकराज पौडेलले बताउनुभयो ।
चाडपर्वका बेलामा माछामासुको प्रयोग बढी हुने र यही समयमा कतिपय व्यापारीले खान अयोग्य मासु समेत बिक्री गर्ने गरेको पाइएकोले व्यापारी र उपभोक्तालाई समेत सचेत बनाउका लागि मासु पसलको अनुगमन गरिएको पौडेलले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा आधिकांश मासु पसलमा काट्ने ठाउँमा सरसफाइ राम्रोसँग नभएको , मूल्य सूची नभएको , तौल गर्ने किलोकाटा नियमित चेकजाँच समेत नगरेको मासु पसलभित्र अनावश्यक सामग्रीहरू राखेको , दर्ता नवीकरण समयमा नभएको लगायतका समस्या समेत देखिएको पौडेलले बताउनुभयो । समस्या देखिएका मासु पसललाई सुधार गर्नुपर्ने सबै काम गरेर तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन भनेको उहाँले बताउनुभयो । अटेर गरेमा पुन फलोअफ गरेर आवश्यक कानूनी प्रकृया समेत अघि बढाइने उहाँको भनाई छ ।
यसैगरी जनगुनासो आएका किराना तथा तरकारी फलफूल पसलमा समेत अनुगमन गरिएको थियो । जसमा मूल्य सूची नराखेको , म्यान नाघेका सामग्री राखिएको , किराना र तरकारी तथा फलफूल पसल एकै ठाउँमा राखिएको लगायतका समस्या देखिएकोले त्यस्ता पसललाई व्यवसाय दर्ता र पाटेसन गरेर छुट्टाछुट्टै गरेर बिक्री वितरण गर्नका लागि सचेत गराइएको पौडेलले जानकारी दिनुभयो ।
पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख टेक बहादुर मौनी , कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागीला , उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल , उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधि प्रेम बहादुर थापा , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि राजन आचार्य लगायतको सहभागितामा अनुगमन गरिएको हो ।