कावासोती । नवलपुरको कावासोती नगरपालिकामा प्लास्टिक जन्य फूलगुच्छा,झल्लर,माला लगायतका सामग्री बिक्रीवितरण प्रतिबन्ध लगाइएको छ ।
वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्नुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा नगरपालिकाको सोमबार बसेको बैठकले प्लास्टिक जन्य फूलगुच्छा,झल्लर,माला लगायतका सामग्री बिक्रीवितरण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
नगर उपप्रमुख फूल कुमारी थनेतले वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने हुँदा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि पनि नगरले यो निर्णय गरेको बताउनुभयो ।
प्लास्टिक जन्य फूल तथा मालाहरुको प्रयोग एवम् बिक्री वितरण गरेको पाइएमा उक्त सामानहरू नगरपालिकाले जफत गरि कानून बमोजिम कारबाही गरिने नगरपालिकाकाद्वारा जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।
स्थानीय तहको निर्णयसँगै व्यावसायिक फूल खेती गर्दै आएका किसानले सकारात्मक रूपमा लिएका छन । पुष्प खेती गर्दै आएका कावासोती नौ निवासी बाबुराम केसीले पालिकाबाट भएको यो निर्णयले पुष्प खेती गर्ने किसानलाई लाभ पुग्ने विश्वास लिएको बताउनुभयो ।