कावासोतीका मिष्ठान्न भण्डारमा अनुगमन

कावासोतीका मिष्ठान्न भण्डारमा अनुगमन

नवलपुर । नवलपुरको कावासोतीमा मिष्ठान्न भण्डारमा अनुगमन गरिएको छ । कावासोती नगरपालिकाको बजार क्षेत्रमा रहेका मिष्ठान्न भण्डारमा आज अनुगमन गरिएको हो ।

कावासोती नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय नवलपुरले संयुक्त रुपमा अनुगमन गरेका हुन् । चाडपर्व लक्षित गरि बजार अनुगमन सुरु गरिएको र पहिलो दिन बजार क्षेत्रका मिष्ठान्न भण्डारको अनुगमन गरिएको अनुगमन संयोजक डा. टेकराज पौडेलले बताउनुभयो ।
चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा अखाद्य बस्तु बिक्रीमा रोक लगाउने उद्देश्यले अनुगमन सुरु गरिएको पौडेलले बताउनुभयो । पहिलो दिन मिठाई बिक्री गर्ने पाँच वटा पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा मिठाईमा रङ्गको प्रयोग धेरै भएको पाइएको उहाँले बताउनुभयो । पकाउने खाद्यान्नमा रङ्ग मिसाउनु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो रङ्ग मिसाएर मिठाई नबनाउन निर्देशन गरिएको डा. पौडेलले बताउनुभयो । साथै पसलमा भेटिएका फुड कलर नष्ट गरिएको छ । अनुगमन क्रममा मिठाइमा प्रयोग भएको तेलको समेत गुणस्तर परिक्षण गरिएको थियो । कमसल गुणस्तर भएको तेल नष्ट गरिएको छ ।
खाद्यान्न बिक्रेता तथा क्रेता दुवै वर्ग गुणस्तरीय वस्तु प्रयोगका लागि सचेत हुनुपर्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख टेक बहादुर मौनीले बताउनुभयो । फुड कलर हालेर पकाएका बस्तु क्रेताले समेत खरिद गर्न नहुने र यसमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । उत्पादन गरिएका बस्तु गुणस्तर छ कि छैन यकिन गरेर, उत्पादन मिति तथा प्रयोग योग्य मिति हेरेर मात्र उपभोग्य वस्तु खरिद गर्नुपर्ने कार्यालय प्रमुख मौनीले बताउनुभयो । बिक्रेताले समेत आफूले बिक्री गर्ने वस्तुको अवस्था सधैँ यकिन गरि बिक्री गर्नुपर्ने अन्यथा कानूनी सजायको भागिदार हुनुपर्ने उहाँले बताउनुभयो । चाडपर्वको समयमा कालोबजारी गर्ने गराउने काम कसैले नगर्न समेत उहाँले अनुरोध गर्नुभयो ।
अनुगमनका क्रममा व्यवसाय दर्ता, नवीकरण लगायतका कागजातको अवस्था समेत जाँच गरिएको थियो ।
कावासोती नगरपालिकामा पहिलो दिन आज मिष्ठान्न लक्षित गरि अनुगमन गरिएको र नियमित रुपमा विभिन्न प्रकृतिका पसलको अनुगमन गरिने कावासोती नगरपालिका अनुगमन संयोजक डा. पौडेलले बताउनुभयो ।
आज भएको अनुगमनमा कावासोती नगरपालिका , पर्यटन तथा उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधिको उपस्थित रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस