भोदी खेल प्रतियोगितामा डायमण्ड युथ सोसाइटी प्रथम

  • नवलपुर आज
  • २०८१ भाद्र ३०, आईतबार (५ महिना अघि)
  • ३९९ पटक पढिएको
भोदी खेल प्रतियोगितामा डायमण्ड युथ सोसाइटी प्रथम

कावासोती ।  नवलपुरको कावासोतीमा आयोजना भएको थारू समुदायको परमपरागत खेल भोदी खेल प्रतियोगितामा डायमण्ड युथ सोसाइटीले ८६ वटा काँचा निकालेर प्रथम भएको छ ।
लौगाई थारु समाजले ८० वटा काँचा निकालेर द्धीतीय भएको छ । असारा थारू समूहले ७० वटा काँचा निकालेर तृतीय हुन सफल भएको छ । भने पुरानो कावासोती शिवालय टोलले ३९ वटा काँचा निकालेर सान्त्वना स्थान हासिल गरेको डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।    
प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद , ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । द्तीय हुनेले १७ हजार नगद , ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गरेको छ , तृतीय हुनेले ७ हजार नगद, ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । भने, सान्त्वना हुनेले ३ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी विकास थनेत हुन सफल भएका छन् । उहाँले पनि पुरस्कार , शिल्ड मेडल प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा ४५ वटा टिमले सहभागिता जनाएका थिए ।
डायमण्ड युथ सोसाइटीले थारू समुदायको अनन्त पर्व र थारू नारीहरूको महान पर्व जितिया पर्वको अवसर पारेर कावासोती १२ राजमन्दिर खेल मैदानमा भोदी खेल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता हिजोबाट सुरु भएको हो ।
यहाँ प्रतेक वर्ष भोदी खेल प्रतियोगिता हुँदै आएको छ ।
प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बीच समापन समेत गरिएको छ । खेल संयोजक रण बहादुर महतोको अध्यक्षता तथा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले भोदी खेल अत्यन्त उत्साहजनक खेल रहेको बताउनुभयो । थारू समुदायको मौलिक खेल समेत रहेको बताउँदै आगामी दिनमा यस खेललाई थप उजागर र प्रवर्द्धन गर्दै लैजानुपर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँले कावासोती १२ मा सफलता पूर्वक खेल सम्पन्न गरेकोमा आयोजक र खेलमा सहभागी खेलाडीलाई बधाई व्यक्त गर्नुभयो। कार्यक्रममा कावासोती १२ का अध्यक्ष ध्रुव खनाल ( दिपेश ) , कावासोती नगरपालिकाका लेखापाल , विनोद सुवेदी , वडा सदस्यहरू तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि , सामाजिक अगुवाहरूको आतिथ्यतामा कार्यक्रम भएको हो ।
थारू समुदायको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संस्थाले प्रतेक वर्ष थारू समुदायको पर्वहरूको अवसर पारेर विभिन्न परम्परागत खेलहरूको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष लिलामणि (महेश) खनालले बताउनुभयो । संस्थाले विषेश गरेर खेल क्षेत्रको विकासका लागि विभिन्न खेलकुदका कार्यक्रम समेत गर्दै आएको उहाँले बताउनुभयो । महिला फुटबल , नगरपालिका स्तरीय विभिन्न खेलकुदका कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । संस्थाले समुदायका विभिन्न सामाजिक कार्यहरूमा समेत हातेमालो गर्ने गरेको खनालले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस