कावासोती । कावासोती नगरपालिका तीनमा रहेको सिद्धार्थ आवासीय माविमा आइतबार डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
कावासोती नगरपालिका स्वास्थ्य तथा शिक्षा शाखाको, स्वास्थ्य शिक्षा कार्यक्रम अन्तरगत नगरपालिकामा रहेका मावि तहका विद्यालयहरूमा डेंगु रोग सम्बन्धी सचेतना शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
अहिले फैलदो क्रममा रहेको डेङ्गु रोगका बारेमा विद्यार्थीहरूलाई सचेतना प्रदान गरेर यसको नियन्त्रण तथा रोकथाममा टेवा पुऱ्याउनका लागि स्वास्थ्य शिक्षा कार्यक्रम अन्तरगत डेङ्गु रोगका बारेमा सचेतना कार्यक्रम सञ्चालन भइरहेको शिव मन्दिर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अमिर सुवेदीले बताउनुभयो । शिव मन्दिर स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने १२ वटा विद्यालय मध्ये १० वटामा डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको र बाँकी दुई वटामा भोलि र पर्सि गरिने उहाँले बताउनुभयो ।
सिद्धार्थ आवासीय माविमा आइतबार गरिएको डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रममा जनस्वास्थ्य निरीक्षक अमिर सुवेदीले सहजीकरण गर्नुभएको थियो । उहाँले डेंगु एक प्रकारको ज्वरो रहेको र यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग रहेको बताउँदै डेँगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने जानकारी दिनुभयो । यस जातको लामखुट्टले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने बताउँदै उहाँले खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा फुल पार्ने बताउनुभयो । यो जातको लामखुट्टे जम्मा तीु दिन बाँच्ने र यसले चार दिनमा अण्डा दिने बताउनुभयो । यसले आफ्नो जीवनचक्रमा ७ पटक अण्डा पार्ने एउटाले आठ सय वटा सम्म अण्डा पार्न सक्ने बताउनुभयो ।
डेंगु ज्वरोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै राम्रो उपाय रहेको उहाँले बताउनुभयो । त्यसबाहेक अन्य उपायहरूमा लामखुट्टेको वृद्धि रोक्ने , पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने, पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने,कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने , फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने , यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने , सम्भव भएसम्म दिउँसो चुट्दा पनि झुल प्रयोग गर्ने , साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउने , घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने लगायतका उपाय अप्नाउन उहाँले सुझाव दिनुभयो ।
सिद्धार्थ आवासीय माविका प्रिन्सीपल भोजराज दाहालले विद्यार्थीहरूलाई लक्षित गरेर डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम गरेकोमा धन्यावाद दिनुभएको थियो । उहाँले यस कार्यक्रमबाट विद्यार्थीहरुमा जागरुकता आउने र रोग रोकथामका लागि सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।