चोरमारा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा मध्यविन्दु नगरपालिका लगातार तिन वर्ष छनोट हुन सफल भएको छ ।
कार्यक्रम शुरुवात भएको वर्ष देखि नै नवप्रवर्तन कार्यक्रमका लागि छनोट हुदै आएको यस नगरपालिका चालु आर्थिक वर्ष २०८१÷०८२ को लागि समेत छनोट भएको हो ।
नगरपालिकाले यस वर्ष कृषि उद्यमशीलता तथा जैविक खेती परियोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएको पत्र सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट असोज २ गते भित्र सम्झौताका लागि आउनेगरी पत्रचार भएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिले जानकारी दिनुभयो ।
यस वर्ष नगरपालिकामा कृषि उत्पादनको ब्राण्डिङ्ग तथा बजार प्रवद्र्धन सहित मध्यविन्दु १४ मा जैविक खेती प्रणाली सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख रहेको थियो । गण्डकी प्रदेशमा नवप्रवर्तन कार्यक्रमका लागि लगातार छनोट हुने एक मात्रै नगरपालिकाको रुपमा मध्यविन्दु नगरपालिका रहेको छ । मध्यविन्दु नगरपालिका सहित बारपाक सुलिकोट गाउँपालिका लगातार तिन पटक हुने स्थानीय तहको रुपमा रहेको छ ।
मध्यविन्दु नगरपालिका आर्थिक वर्ष २०७९÷०८० मा प्रदुषण न्यूनिकरण, फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम र आर्थिक वर्ष २०८०÷०८१ मा हाम्रो खुसी शैक्षिक सुधार परियोजनाको प्रस्तावना स्वीकृत भई मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छनोट भएको मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।