कावासोती । ६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर नवलपुरको कावासोतीमा शुक्रबार बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारा सहित गोष्ठी एवम् अन्तरकृया कार्यक्रम भएको छ ।
सामाजिक विकास कार्यालय नवलपुर र कावासोती नगरपालिकाको संयुक्त आयोजना तथा जिल्ला बाल अधिकार समिति नवलपुर , जिल्ला बाल क्लब नवलपुर , नगर बाल सञ्जाल कावासोतीको सहयोग एवम् समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा बालअधिकारकर्मी तथा पूर्व गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले सहजीकरण गर्नुभएको थियो ।
सहजीकरण गर्दै बालअधिकारकर्मी तथा पूर्व गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले प्रदेशमा भएको बालबालिका सम्बन्धी नीति नियम , कानून का बारेमा प्रष्ट पार्नुभएको थियो । भने ती कानूनले व्यवस्था गरेका बालअधिकार सम्बन्धी काम गर्ने सरकारी स्तरबाट गठित विभिन्न समित र त्यसमा हुने सहभागिता र काम कर्तव्यका बारेमा समेत चर्चा गर्नुभएको थियो । भने मान बहादुर खड्काले बालमैत्री स्थानीय शासन लागू गर्न हुनुपर्ने काम र पुरा गर्नुपर्ने सूचकका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले बालमैत्री स्थानीय शासन लागू गर्न पुरा गर्नुपर्ने ५१ वटा सूचकहरूमा बाच्न पाउने अधिकार सम्बन्धी १४ , संरक्षण सम्बन्धी १० , बाल विकास सम्बन्धी ६ , बाल सहभागिता सम्बन्धी ६ र संस्थागत सूचक १५ रहेको जानकारी गराउनुभयो । यी सबै सूचक पुरा गरेपछि मात्रै बालमैत्री स्थानीय शासन लागू हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वेद बहादुर पौडेलले लागू औषद्य रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री महेन्द्रध्वज जिसीले नवलपुर जिल्ला नयाँ जिल्ला भएकाले बालमैत्री भौतिक संरचनाहरू हुन नसकेको बताउनुभयो । उहाँले धेरैजसो कार्यालय भाडामा हुँदा समस्या भएको भन्दै अब बन्ने कार्यालय भवनहरू बालमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नवलपुरमा बाल गृह समेत नहुँदा रूपन्देही , पोखरा पठाउनुपर्दा पनि समस्या भइरहेको बताउनुभयो ।
उहाँले नवलपरासी जिल्ला एउटै हुँदा पनि बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने अग्रणी जिल्ला भएको र अहिले पनि अग्र भूमिकामै रहेको भन्दै अझै पनि धेरै काम गर्न काँकी रहेकोले सबै मिलेर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बालबालिकाहरूले विभिन्न प्रश्न गरेका थिए भने सहभागि सरोकारवालाले त्यसको जवाफ दिएर बालबालिकाको जिज्ञासा मेटाएका थिए । यस्तै विभिन्न सास्कृतिक कार्यक्रम र नाटक समेत प्रस्तुत भएको थियो ।
कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख फूल कुमारी थनेत , सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण प्रसाद पौडेल , जिल्ला बाल अधिकार समिति नवलपुर अध्यक्ष नारायण पौडेल , कावासोतीक विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु , बाल क्लबका प्रतिनिधि , सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कावासेती नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत लिलाराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने , सामाजिक विकास कार्यालयका सूचना अधिकारी हरिशंकर शर्मा र बाल क्लबका सदस्यहरुलले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो ।