नवलपुरको कावासोतीमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना

नवलपुरको कावासोतीमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रलाय कृषि विभाग अन्तरगत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।
कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट हरियो तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका बरिष्ठ बाली संरक्षण अधिकृत राजिवदास राज भण्डारीले बताउनुभयो । कावासोती स्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ । थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने हरियो तरकारी तथा फलफूलको परीक्षणसँगै आवश्यकताका आधारमा जिल्लाका अन्य बजार , पकेट क्षेत्रमा उत्पादन हुने तरकारी, सिमा क्षेत्रबाट आउने तरकारी तथा फलफूलको समेत विषादी परीक्षण गरिने बरिष्ठ बाली संरक्षण अधिकृत भण्डारीले बताउनुभयो ।
कृषि थोक बजारबाट नियमित रुपमा नमूना सङ्कलन गरि मुख्य गरि कार्बामेट र अर्गानोफस्पेट दुई समूहमा पर्ने विभिन्न विषादीको परीक्षण गरिने केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले बताउनुभयो । यि विषादी धेरै घातक हुने भएकाले यसको परीक्षण गरिने उहाँले बताउनुभयो । नमूना सङ्कलनका लागि आएका तरकारी तथा फलफूलको नमूना लिएपछि बिक्रीमा रोक लगाउने र रिपोर्ट आएपछि मात्र अवस्था हेरी बिक्रीगर्न दिइने बाली संरक्षण अधिकृत सुनारले बताउनुभयो । कैफियत देखिए उक्त तरकारी कसैले उपभोग नगरून् भनेर नमूना सङ्कलन पछि बिक्रीमा रोक लगाइने उहाँले बताउनुभयो । प्रत्ययक दिन नमूना सङ्कलन गरेको पहिलो पटक आधा घण्टा र त्यसपछि उपकरण नियमित रुपमा चल्ने हुँदा तीन÷चार मिनेटमा रिपोर्ट निकाल्न सकिने उहाँले बताउनुभयो ।
तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ, विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय राखेर खान योग्य र खान अयोग्य भनेर छुट्याउनेछ । परीक्षणका क्रममा तरकारी तथा फलफूलमा खान नहुने गरि विषादी रहेको पाइए त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरिने छ ।
कावासोती स्थित कृषि थोक बजारमा हप्तामा तीन दिन सोमबार , बुधबार र शनिबार बजार लाग्ने गर्दछ । यसैगरी यहाँ रहेका थोक बिक्रेताले बाहिरबाट तरकारी तथा फलफूल आयात गरि स्थानीय बजारमा नियमित रुपमा बिक्री गर्ने गर्दछ । जिल्लाका उत्पादन भएका तरकारी समेत यहाँबाट बाह्य जिल्ला निर्यात हुने समेत गर्दछ ।
कावासोतीमा स्थापना भएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यस अघि परीक्षणका रुपमा नमूना सङ्कलन गरि विषादी जाँच गर्दै आएकोमा आजदेखि नियमित रुपमा परीक्षण सुरु गरिएको छ ।
कृषि विभाग केन्द्रिय कृषि प्रयोगशालाको आयोजनामा आज कावासोतीमा कृषकहरुलाई अभिमुखीकरण कार्यक्रम राखेर प्रयोगशालाको उद्घाटन समेत गरिएको छ । प्रयोगशालाको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेत लगायतले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा विषादी प्रयोगको तरिका र यसका असर बारे जिज्ञाशा समेत राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस