नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको गोडार खोलामा मोटरवेल पुल निर्माण भएको छ । उक्त पुल निर्माण गर्नुपर्ने अन्तिम म्यादको तेह्र महिना अघिनै सम्पन्न भएको हो ।
पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वले मध्यविन्दु नगरपालिका –१५, टिकुलीटार स्थित गोडार खोलामा पुल निर्माणका लागि विस २०८० असोजमा देवचुली निर्माण सेवासँग सम्झौता गरेको थियो । ४५ मिटर लम्बाइको पुल विस २०८२ असोज १८ गते भित्र सम्पन्न गर्नुपर्ने रहेको थियो । रु. ५ करोड ८७ लाख ६४ हजार लागत रहेको पुल निर्माण कम्पनीले यही भदौ तीन गते काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । निर्माण कम्पनीले सम्झौता अवधि भन्दा तेह्र महिना पहिला काम सम्पन्न गरेको उहाँले बताउनुभयो । ठूलो पुल अन्तरगत पर्ने उक्त योजना छिटो गतिमा सम्पन्न भएको उहाँले बताउनुभयो । निर्माणको काम सुस्त गतिमा हुनेगरेको भन्ने गुनासो रहने गरेकोमा यो पुल छिटो सम्पन्न हुनु सकारात्मक विषय भएको उहाँले बताउनुभयो । ‘कतिपय योजना समयमा नसकिँदा समस्या हुने गरेको देखिन्छ, तर गरे सम्भव हुँदो रहेछ भन्ने सकारात्मक उदाहरण गोडार खोलाको पुल बनेको छ’ कार्यालय प्रमुख अर्यालले भन्नुभयो । यस्ता कार्यले अन्य सुस्त योजनालाई समेत समयमा सम्पन्न गर्न उर्जा थप्ने उहाँले बताउनुभयो ।
पुल निर्माणको अन्तिम म्याद भन्दा अघिनै सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दालाई सुविधा पुगेको मध्यविन्दु नगरपालिका –१५, का वडा अध्यक्ष यम बहादुर केसीले बताउनुभयो । पुलले वडा नम्बर १५ सहित ६, ८, १०, ११, १२ का स्थानीयलाई आवतजावत गर्न सहज भएको उहाँले बताउनुभयो । निर्माणको अन्तिम समय अवधि भन्दा पहिला सम्पन्न हुँदा झनै चाडै यहाँका बासिन्दालाई सुविधा थपेको उहाँले बताउनुभयो । पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर हिँड्नुपर्ने र अन्य समयमा समेत खोला वारपार गर्न समस्या हुने गरेकोमा उक्त बाध्यता हटेको अध्यक्ष केसीले बताउनुभयो ।
यसै बिच पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०÷०८१ मा पूर्वाधार कार्यालयले आफू मातहतमा रहेका विभिन्न सडक योजनामा अन्तरगत ३७ किलोमिटर सडक कालोपत्र गरिएको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीनवटा मोटरवेल पुल निर्माण सम्पन्न गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।
पूर्वाधार कार्यालयले १२ वटा कलभर्ट÷कजवे निर्माण गरेको छ। यस्तै तीनवटा झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरवेल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माण सहितका बहुवर्षीय योजना सहित करिब एक सय १५ वटा योजना सम्पन्न गरेको उहाँले बताउनुभयो ।