कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर आठको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ ।
आइतबार एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख भिमलाल अधिकारीले भवन उद्घाटन गर्नुभएको हो । उद्घाटनमा बोल्दै नगर प्रमुख अधिकारीले वडा कार्यालयको आफ्नै भवनबाट सेवा सुरु भएपछि सेवाग्राहीलाई धेरै कुरामा सहज हुने बताउनुभयो । उहाँले वडा नम्बर १४ को वडा कार्यालय भवनका लागि जनतालाई जहाँ पायक पर्छ र सहज हुन्छ त्यसै अनुसार निर्माण गर्न समन्वय भएको बताउनुभयो ।
वडा कार्यालय भवनका लागि स्थानीय दुई जनाले जग्गा दान गर्नुभएको थियो । चोलानाथ ढकाल (१० धुर) र स्व. डिल्लीराम भण्डारीको स्मृतिमा ईश्वरी भण्डारीबाट ( ६ धुर ) जग्गा दान गर्नुभएको हो । कार्यक्रममा जग्गादाताको परिवारलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
४४ लाख ७ हजार रुपैयाँ लागतमा चार कोठे भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरी , प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती लगायत स्थानीय सरोकारवाला निकायका प्रमुख प्रतिनिधिको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष पर्शुराम महतोको अध्यक्षता तथा वडा सचिव गणेश दराईको सहजिकरणमा भएको थियो ।