वाल्मीकि आश्रम जाने ‘लवकुश’ झोलुङ्गे पुल सञ्चालन

वाल्मीकि आश्रम जाने ‘लवकुश’ झोलुङ्गे पुल सञ्चालन

नवलपुर । नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) नवलपुरको त्रिवेणीमा नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –६ र चितवनको माडी नगरपालिका –१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्ष पछि सञ्चालनमा आएको हो ।
चितवनको माडी नगरपालिका –१, मा पर्ने वाल्मीकि आश्रमसम्म नेपालकै बाटो हुँदै जानका लागि उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा निर्माण सम्पन्न भएको थियो । तर चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा पुल सञ्चालनमा आउन सकेको थिएन ।
करिब ५३५ मिटर लम्बाइको यस झोलुङ्गे पुल तीनवटा ज्वाइन्ट भेन्चर कम्पनी रुबिना – मना जेबी कन्ट्रक्सनले निर्माण गरेको हो । करिब रु. ६ करोडको लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यस अघि चितवन तर्फबाट बाटो नभएको र नवलपुर तर्फबाट समेत नेपालकै भूमीहुँदै वाल्मीकि आश्रम पुग्ने बाटो थिएन । जसले गर्दा त्रिवेणी स्थित गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता रहेको थियो । नेपालको धार्मिक स्थल भारतीय बाटो हुँदै जाँनुपर्दा समय त लाथ्यो नै , उत्तिकै झण्झटिलो समेत हुने गर्दथ्यो ।
वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको र यो खुसीको विषय भएको नवलपुरका पूर्व सङ्घीय सांसद तिलक महतले बताउनुभयो । सोमबार पुलको उद्धघाटन सकित पद यात्रा पछिको कार्यक्रममा बोल्दै अब नेपाली धार्मिक पर्यटक नेपालकै बाटो हुँदै सहज रुपमा वाल्मीकि आश्रमसम्म पुग्न सक्ने उहाँले बताउनुभयो ।
महत्वपूर्ण धार्मिक स्थल वाल्मीकि आश्रम झोलुङ्गे पुल हुँदै नेपालको बाटो बाट जोडिदाँ यसको विकास र संरक्षण र प्रर्वद्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा त्रिवेणीमा झोलुङ्गे पुल निर्माणको विषय उठान गरेको र अहिले त्यो साकार भएको उहाँले बताउनुभयो । ‘भन्सार , त्रिवेणीको पुल र दुम्किबास त्रिवेणी सडक निर्माणको उठान गरेको थिए, पुल र भन्सारको काम भएको छ, भन्सार थप व्यवस्थि गर्न भने बाँकीनै छ, त्रिवेणी दुम्किबास सडकको विषय पनि विभिन्न चरणमा अघि बढिरहेको छ ’ पूर्व सांसद महतले भन्नुभयो ‘हामीहरु मिलेरै यस अघिका काम गरेका हौं, बाँकी काम पनि हामीलेनै गर्छौं।’
नवलपुर पे्रससँगको संवादका क्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले वाल्मीकि आश्रम धार्मिक पर्यटकिय हिसाबमा महत्वपूर्ण रहेकाले अब यसको विकासमा लाग्नुपर्ने र आफूले पनि सम्बन्धित ठाउँमा पहल गर्ने बताउनुभयो ।
जिसस प्रमुख बाबुराम विश्वकर्माले पदयात्रा पछिको कार्यक्रममा बोल्दै आफ्नै भूमिबाट ऐतिहासिक धार्मिक स्थलसम्म आउने वातावरण बन्नु आफैमा महत्वपूर्ण कार्य रहेको बताउनुभयो । उहाँले भारतीय भूमिहुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता अब हटेको बताउनुभयो ।
पुल सञ्चालन भएपछि विनयी त्रिवेणीमा अवस्थित धार्मिक क्षेत्र त्रिवेणी धाममा समेत चहलपहल बढ्ने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । ‘पुल निर्माण भएर पनि लामो समय सम्म सञ्चालन नहुँदा हामी चिन्तित थियौ, हामीले पुल सञ्चालन गर्न पटक पटक पहल गर्यौं , अब हामी हाम्रो भूमिबाट वाल्मीकि आश्रम जान पाउने भएका छौं , हाम्रो पहलले सार्थकता पाएको छ’ अध्यक्ष गिरीले भन्नुभयो ।
वाल्मीकि आश्रम धार्मिक तथा पौराणिक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय बिताएको , सीता पाताल प्रवेश गरेको , लव–कुश जन्मेको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, वाल्मीकि आश्रम आफैमा ऐतिहासिक धार्मिक स्थल भएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले बताउनुभयो । यति महत्व बोकेको ठाउँ र त्रिवेणी पुलको माध्यमबाट जोडिँदा वाल्मीकि आश्रम सहित त्रिवेणीमा समेत धार्मिक पर्यटकको आगम थप बढ्ने र समग्र दुई धार्मिक स्थलको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
नेपाली कांगे्रसका नेता बालकृष्ण घिमिरेले अब वाल्मीकि आश्रमको विकासमा लाग्नुपर्ने बताउनुभयो । भूगोलले वाग्मती प्रदेशमा पर्ने र पायकका दृष्टिले गण्डकीसँग जोडिएकाले दुवै प्रदेशले सहकार्य गरि यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
धामका स्वामी कृष्ण प्रपन्नचार्य कठिन र अप्ठ्यारो हुँदा हुँदैपनि सबैको सहयोगले पुल संचालनमा आएको र पदमार्ग निर्माण गरि वाल्मीकि आश्रमलाई त्रिवेणीसँग जोड्न सकिएको बताउनुभयो ।
पुल संचालन पछि पदमार्ग समेत निर्माण गरिएकाले सोमबार पद यात्रा समेत गरिएको थियो । त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धामको आयोजनामा भएको पदयात्रामा पूर्व सांसद तिलक महत, धामका स्वामी कृष्ण प्रपन्नचार्य, प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, लक्ष्मण पाण्डे, जिसस प्रमुख बाबुराम विश्वकर्मा, उप प्रमुख शकुन्तला लम्साल, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, देवचुली नगरपालिका नगर उप प्रमुख पार्वत तिवारी, मध्यविन्दुका उप प्रमुख पूर्णकला चौधरी, विनयी त्रिवेणीका उपाध्यक्ष भगवती वैदवार सहित विभिन्न जनप्रतिनिधि, नेपाली कांगे्रसका नेता बालकृष्ण घिमिरे सहित विभिन्न दलका जिल्ला नेता, स्थानीय , भक्तजन सहितको पदयात्रा कार्यक्रम गरिएको थियो । करिब २९ सय मिटरको पैदल मार्ग हुँदै त्रिवेणीको पुलबाट टोली वाल्मीकि आश्रम पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस