चितवन । चितवन राष्ट्रिय निकुञ्जले आर्थिक बर्ष ०८०/०८१मा झण्डै ३७ करोड आम्दानी गरेको छ । २०८० को साउनदेखि २०८१को असार मसान्त सम्म सबै शीर्षक गरी ३६ करोड ७२ लाख ९२ हजार ७७ हजार रुपैंया सङ्कलन गरेको हो ।
निकुञ्जले काठ र दाउरा बिक्री,गैर काष्ठ वन पैदावर बिक्री, पर्यापर्यटन ,दण्ड सजायबाट र अन्य शीर्षकमा गरी राजश्व सङ्कलन गर्दै आएको छ ।
सबैभन्दा बढी राजश्व सङ्कलन चैत्रमा
निकुञ्जले एक वर्षको अवधिमा सबैभन्दा बढी चैत्र महिनामा सङ्कलन गरेको छ भने कम असार महिनामा सङ्कलन गरेको छ । जसअनुसार चैत्र महिनामा ५ करोड २८ लाख ८० हजार १४९ रुपैंया र असार महिनामा ९४ लाख ९१ हजार ६८७ रुपैंया सङ्कलन गरेको हो ।
यस्तै कार्यालयका अनुसार आव 0८०/ ०८१ को साउन महिनामा १ करोड ५ लाख ३२ हजार ४३ रुपैंया , भदौमा १ करोड ७२ लाख २५ हजार ९४४ रुपैंया, असोजमा २ करोड ५१ लाख ८०हजार ७६ रुपैंया, कात्तिकमा ४ करोड ५९ लाख ९२ हजार २३७ मंसिरमा ४ करोड ५७ लाख ६१ हजार ५२४रुपैयाँ र पुष महिनामा २ करोड ८० लाख १३ हजार ९४६ रुपैयाँ सङ्कलन गरेको छ । यस्तै माघ महिनामा २ करोड १९ लाख ५६ हजार ७१४ , फागुन महिनामा ३ करोड ५१ लाख ४९हजार ८८५, वैशाख महिनामा ४ करोड १८ लाख ७० हजार ४०३ र ज्येष्ठ महिनामा ३ करोड ३२ लाख ३८ हजार १९९ रुपैंया सङ्कलन गरेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले अघिल्लो वर्षको तुलनामा गतबर्ष राजश्व सङ्कलन बढ्दै गएको बताउनु भयो । ‘गतबर्ष २९, ३० करोडको हाराहारीमा उठेको थियो, अहिले पर्यटकको आगमनसँगै आम्दानी पनि बढेको छ ।’ तिवारीले भन्नुभयो ।
बिशेषगरी पर्यटकहरू साइट सिन गर्न बढी चैत्र महिनामा आउने भएकोले औसत रुपमा चैत्र महिनामा राजश्व सङ्कलन वृद्धि भएको बताउनु भयो । ‘चैत्र महिनामा साइट क्लियर हुन्छ । पर्यटकको अनुकूल समय पनि हो , तिवारीले भन्नुभयो , बर्षायाम शुरु भएसँगै स्वभाविक रुपमा पर्यटक घट्छन्।’ आम्दानी पनि घट्छ । ’ सबै भन्दा बढी पर्यापर्यटन शीर्षकबाट राजश्व सङ्कलन हुने भएकोले पर्यटकीय सिजनसँगै राजश्व सङ्कलन घटबढ हुने उहाँको भनाई थियो ।