नारायणगढ – बुटवल सडक : म्याद सकिन लाग्दा पूर्वी खण्डमा ५२ प्रतिशत प्रगति

  • नवलपुर आज
  • २०८१ अषाढ १५, शनिबार (११ महिना अघि)
  • २१७ पटक पढिएको
नारायणगढ – बुटवल सडक : म्याद सकिन लाग्दा पूर्वी खण्डमा ५२ प्रतिशत प्रगति

नवलपुर । नारायणगढ – बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आउँदो साउन ८ गते सकिदै छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ – बुटवल सडक विस्तारको काम थालिएको थियो । दोस्रो पटक म्याद थप गरिएको अवधि सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो ।
योजनाको पूर्वी खण्डमा गैंडाकोटको नारायणी पुलदेखि दाउन्ने सम्म ६५ किलोमिटर पर्दछ । चार लेनमा विस्तार गर्ने सडक दुईतर्फी गरेर एकसय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताउनुभयो । यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिने उहाँले बताउनुभयो ।
कालोपत्र गर्नका लागि ६ दशमलब ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताउनुभयो । बेस तयार भएको काम सके यात्रुलाई ६÷७ किलोमिटर थप यात्रामा सहज हुने उहाँले बताउनुभयो ।
हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिवद्धता गरेको भन्दा कम भएको उहाँको भनाई छ । ‘म्याद थप पछि जति गर्छु भनेको थियो, त्यति भएन, सो अनुसार स्रोत परिचालित पनि भएन , उसको आन्तरिक कारणले पनि होला, अहिले त मौसमले पनि कामलाई घटाएको छ’ योजना प्रमुख मगरले भन्नुभयो ।
म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना प्रमुख मगरले बताउनुभयो । ‘नयाँमा अघि बढ्दा पनि समय लाग्ने हुन्छ, ५२ प्रतिशत सकिएको अवस्था छ , हालकै निर्माण कम्पनीबाट काम गरि सक्नुनै राम्रो हुन सक्छ’ उहाँले भन्नुभयो ‘ छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्नेनै हो ।’
सूचना अधिकारी खनालका यस खण्डमा पर्ने ठूला १२ वटा पुल मध्य तीन वटा बाहेकमा स्लाब राख्ने सम्मको काम भएको छ । साना २२ वटा पुलहरु निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएकाछन् ।
नारायणगढ – बुटवल खण्डको ११३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटर मध्य बजार क्षेत्रमा सर्भिस लेन सहित ६ , दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण गर्ने गरि काम अघि बढिरहेको छ । करिब १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

वर्षा शुरु भएसँगै राजमार्ग हिलाम्य भएको छ । वर्षामा चोरमारा –अरुणखोला–दुम्किबास, थुम्सी जंगल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा यातायात अवरुद्ध हुने गरेको छ । अन्य स्थानमा समेत सडक हिलो हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ । रातो माटो भएको चोरमारा –अरुणखोला–दुम्किबास, क्षेत्रको उकालो ,ओरालोमा भन्दा दाउन्ने क्षेत्रमा कम जोखिम रहेको योजना प्रमुख थापा मगरले बताउनुभयो । तर दाउन्नेमा समेट पटकपटक सडक अवरुद्ध हुने गरेको छ। रातो माटोका कारण यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनेको उहाँले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस