सर्दीमा रहेको सूर्य विनायक वनद्धारा क्षमता विकास तालिम आयोजना

सर्दीमा रहेको सूर्य विनायक वनद्धारा क्षमता विकास तालिम आयोजना

कावासोती ।  नवलपुरको विनयी त्रिवेणी गाउँपालिका चार सर्दीमा रहेको सूर्य विनायक सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको कार्य समिति तथा उपभोक्ताहरुको क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।
हिजोबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
तालिम अवधीभर सामुदायिक वन , सामुदायिक वनमा महिला सहभागिताको व्यवस्था , सामुदायिक वनले बनाउनुपर्ने वार्षिक कार्य योजना र नेतृत्व विकासका बारेमा ग्रीन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष तथा प्रशिक्षक ठाकुर प्रसाद पाण्डे र खेम नारायण महतोले सहजीकरण गर्नुभएको थियो । भने बोल्ने कला , उद्घोषण कला र महिला अधिकारका बारेमा प्रशिक्षक ज्ञानु पंगेनीले सहजीकरण गर्नुभएको थियो ।
तालिम अवधिभर सैद्धान्तिक तथा अभ्यासका माध्यमबाट सिकाइ आदान प्रदान गरिएको थियो ।
सूर्य विनायक सामुदायिक वनका अध्यक्ष सभ्यता हमालले कार्य समिति तथा उपभोक्ताहरुलाई सामुदायिक वनका बारेमा जानकारी प्रदान गर्ने र कुनै पनि कार्यक्रम वा आफ्नो गाउँठाउँमा हुने कार्यक्रम तथा भेला छलफलमा आफ्ना कुराहरु निर्धक्क भएर राख्नु सकुन भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । विषेश गरी सामुदायिक वनमा भएका व्यवस्थाहरु , कार्यसमिति तथा उपभोक्ताहरुको काम कर्तव्य र अधिकारका बारेमा जानकारी प्रदान गरी , आगामी दिनमा काम गर्न सहज होस भन्नका लागि पनि कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनुभयो । तालिममा ४० जनाको सहभागिता रहेको थियो ।
यसैबिच तालिमको आज एक कार्यक्रमका बिच समापन समेत गरिएको छ । सूर्य विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सम्भयता हमालको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय सामाजिक अगुवा टुक बहादुर वैदवार , गोमा पौडेल लगायातको समेत सहभागिता रहेको थियो ।
प्रमुख अतिथि वैदवारले कार्यक्रममा बोल्दै सामुदायिक वनले गरेको लगानीले नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्नुका साथै समुदायको विकासमा समेत फाइदा पुग्ने बताउनुभयो । वनले आयोजना गरेको तालिमबाट आत्मविश्वास बढ्नुका साथै आफ्ना कुराहरू ढुक्कसँग राख्न सक्ने क्षमताको विकास र वनको विकासमा हातेमालो गर्नका लागि उत्प्रेरणा प्रदान गरेको बताउनुभएको थियो ।
वनका सचिव तुलसी गिरीले समापन कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस