विद्यार्थीको दुर्घटना बिमा

विद्यार्थीको दुर्घटना बिमा

कावासोती  ।  निवासी शैक्षिक एवं सामाजिक व्यक्तित्व भोजराज दाहालले व्यक्तिगत लगानीमा यहाँका चार हजार २०४ जना विद्यार्थीको दुर्घटना बिमा गरिदिनुभएको छ ।
कावासोती नगरपालिकामा रहेका १० वटा सामुदायिक विद्यालय र मध्यविन्दु नगरपालिकामा रहेको अरविन्द आश्रम सहित ११ वटा विद्यालयमा दुर्घटना बिमा गरिदिनुभएको हो ।
कावासोतीमा रहेको सिद्धार्थ आवासीय मा.वि.का संस्थापक प्रिन्सिपल समेत रहनुभएका दाहालले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामुदायिक विद्यालयका विद्यार्थिहरुको दुर्घटना बिमा गर्ने कार्य गरेको बताउनुभयो ।
यहाँका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थिहरुको १ लाख रूपिँया सम्मको उपचार खर्च प्राप्त गर्न सक्ने गरी गरी दुर्घटना बिमा गरेको दाहालले जानकारी दिनुभयो ।
ज्ञानोदय माविका ७४१ जना , नवदुर्गा आविका २६६ जना , जीवन ज्योति माविका ३८२ जना, सहिद स्मृति माविका ३१७ जना,जन विकास आविका १५२ जना, सरस्वती नमुना माविका एक हजार २२ जना , जनकल्याण माविका ४०२ जना, जनता माविका ६२८ जना , पिठौली आविका १०४ जना , कालिका प्राविका १०८ जना र अरविन्द आश्रम कोल्हुवाका ८२ जना गरी चार हजार दुई सय चार जना विद्यार्थीको दुर्घटना बिमा भएको छ ।
दाहालले सकेसम्म कोहि पनि दुर्घटनामा पर्नु नपरोस् परि हालेमा पनि उपचारमा केही सहजता होस् भनी विद्यार्थीका लागि दुर्घटना बिमा गरी सामाजिक कार्यमा जोडिएको बताउनुभयो ।
विद्यालयमा दुर्घटना बिमा कार्यक्रम लागू भएपछि दुई जना विद्यार्थीहरूको बिमा रकमबाट उपचार खर्चमा सहयोग पुगेको जनविकास विद्याश्रमका प्रधानाध्यापक प्रेम न्यौपानेले बताउनुभयो ।
खेल्ने क्रममा दुर्घटनामा परेका यसै गरी कावासोती तीनमा रहेको जीवन ज्योति माविको कक्षा १२ मा अध्ययनरत छात्र कोषराज गुरौ पनि उक्त दुर्घटना बिमाबाट लाभान्वित भएका छन् । उनले बिमा बापत एक लाख रुपिँया प्राप्त गरेका छन् ।
केही दिन अघि मात्रै दाहालले विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक लाख बराबरको चेक गुरौलाई हस्तान्तरण गर्नुभएको थियो ।
साथै उहाँले विभिन्न विद्यालयमा गरिब तथा जेहेन्दार छात्रछात्राहरूको अध्ययन अध्यापनमा सहयोग गर्ने उद्देश्यले आफ्ना स्वर्गीय पिता देवीलाल दाहाल र माता रमादेवी दाहालको स्मृतिमा अहिले सम्म ३१ वटा विद्यालयमा एक लाख देखि एक लाख पचास हजार बराबरको र कावासोती नगर पालिका अन्तरगत रहेका पाँचवटा सबै सामुदायिक क्याम्पसहरूमा एक लाख ५० हजारका दरले अक्षय कोष समेत स्थापना गर्नुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस