कावासोती । मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी पूर्व नवलपुरलाई एक सय शैययामा स्तरोन्नति गर्न अस्पताल व्यवस्थापन पक्षले माग गरेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले १५ शैययाको मात्र दरबन्दी रहेको यस अस्पतालले अहिले ८० शैययासम्मको सेवा प्रदान गर्दै आइरहेको भन्दै कम्तीमा एक सय शैययामा स्तर उन्नति गर्न टट्कारो आवश्यकता रहेको बताउनुभयो । प्रदेश सरकारले महत्व दिएर प्रादेशिक अस्पताल नामाकरण गरे पनि सो अनुसारको सेवा सुविधा उपलब्ध हुन नसकेको गुनासो समेत उहाँले व्यक्त गर्नुभयो । सामुदायिक रूपमा सञ्चालित अस्पताललाई बिस २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले पन्ध्र शैययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुष ९ गतेको मन्त्रीपरिषदको निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पताल नामाकरण गरेको छ ।
अस्पतालले यही फागुन २८ गते वार्षिकोत्सव तथा अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन उद्घाटन कार्यक्रम गर्दैछ । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले भवनको उद्घाटन गर्ने कार्यक्रम तया भएको छ । अस्पताल सुविधासम्पन्न नयाँ भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा रहेको हुँदा अब अस्पतालको स्तरोन्नतिको खाँचो रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । ‘स्वीकृत दरबन्दी पन्ध्र शैययाको मात्र हुँदा जनशक्ति अभावको समस्या पेचिलो बनेको बनेको छ । स्थाई करार र विभिन्न कार्यक्रम तर्फका गरी १६४ जना कर्मचारी अहिले कार्यरत रहेका छन् । एक सय शैययामा स्वीकृत भए जनशक्ति प्रदेशबाट थप हुने र सेवा दिन सहज हुने थियो । ’ घिमिरेले भन्नुभयो । बिरामीको चाप दिनानुदिन बढ्दै जाने तर अस्पतालको स्तर उन्नति नहुँदा नागरिक स्तरबाट समेत जनगुनासो बढेको हुँदा यस कुरालाई गम्भीर रूपमा लिएर स्तर उन्नतिका लागि सरकारबाट पहल गरिदिन समेत घिमिरेले आग्रह गर्नुभएको छ ।
अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । १० दशमलव ४९ हेक्टर जमिन अस्पतालले उपभोग गर्दै आएको भए पनि २ दशमलव ५ हेक्टर मात्र पूर्ण स्वामित्वमा रहेको छ । बाँकी जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन सकेको छैन । यसले गर्दा कुनै दातृ निकायबाट आउने सहयोग समेत प्राप्त गर्न समस्या भइरहेको उहाँको भनाई छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेश प्रसाद आचार्यले अस्पतालका अल्पकालीन , दिर्घकली तथा मध्यकालीन योजनाका बनाएको र त्यसका लागि पनि अस्पताललाई एक सय शैयया बनाउन जरुरी रहेको बताउनुभयो । अस्पतालमा सघन उपचार कक्ष ( आइसियु ) , ट्रमा सेन्टर स्थापना , सिटी स्क्यान , तथा एमआरआई सेवा सञ्चालन जस्ता महत्वपूर्ण योजना अस्पतालले बनाएको र सुविधा सम्पन्न नयाँ भवनबाट विषेशज्ञ चिकित्सक सहितका सेवाहरू थप् गर्ने योजना समेत रहेको बताउनुभयो ।
अस्पतालको अत्याधुनिक सुविधा सम्पन्न भवन नेपाल हिल्फे र नेपाल सरकारको लगानीमा निर्माण भइरहेको छ । नेपाल सरकारबाट ११ करोड रुपियाँ लगानी अस्पतालमा भएको छ । अहिले भँुइतला र पहिलो तलाको काम सम्पन्न भएर त्यसैबाट सेवा सञ्चालन गर्ने तयारी अस्पताल व्यवस्थापनले गरेको छ । जसका लागि नेपाल हिल्फेले १८ करोड बजेट उपलब्ध गराएर अस्पतालाई हस्तान्तरण समेत गरेको हिल्फेका प्रतिनिधि श्यामराज पण्डितले जानकारी दिनुभयो ।