नवलपुरमा १६ हजार बढी बालिकाले लगाए एच .पी.भी. खोप

नवलपुरमा १६ हजार बढी बालिकाले लगाए एच .पी.भी. खोप
कावासोती ।  नवलपरासी पूर्व ( नवलपुरमा ) पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच .पी.भी. खोप अभियानमा ९६.१८ प्रतिशत बालिकाले खोप लगाएका छन् ।
सरकारले एच .पी.भी. खोप खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई निःशुल्क रूपमा खोप उपलब्ध गराएको थियो ।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन भएको खोप अभियानमा १६ हजार ४ सय ४५ जना बालिकाले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका खोप फोकल पर्सन खरेल प्रसाद चौधरीले जानकारी दिनुभयो । जिल्लामा रहेका आठ ओटा पालिकामा दुई चरणमा गरी खोप अभियान सम्पन्न भएको हो । अभियानमा विद्यालय नजाने १० वर्ष उमेर समूहका ४६ जना र दश देखि १४ वर्ष उमेर समूहका ९३ जना बालिकाले समेत खोप लगाएको खोप फोकल पर्सन चौधरीले जानकारी दिनुभयो ।
जिल्लामा लक्ष्य भन्दा केही कम बालिकाले खोप लगाएको तथ्याङ्क देखिएको छ । तर कार्यालयका खोप फोकल पर्सन चौधरीका अनुसार तथ्याङ्क सङ्कलनका क्रममा केही त्रुटि हुँदा त्यस्तो देखिएको बताउनुहुन्छ । खोप अभियानमा विद्यालयका सबै बालिकाहरू समेटिएको चौधरीको भनाई छ ।
‘हामीले विद्यालयसँग तथ्याङ्क माग्दा केही विद्यालयबाट नबुझेर किशोरको समेत तथ्याङ्क दिनुभएको रहेछ । खोप लगाउने क्रममा मात्रै हामीले त्यसको बारेमा जानकारी पायौँ , हामीले पनि विद्यालय नजाने बालिकाहरूको तथ्याङ्क अलि धेरै अनुमान गरेका थियौँ । त्यसमा कमी भयो, त्यसैले पनि लक्ष्य भन्दा कमले खोप लगाएजस्तो देखियो तर, खोप अभियानमा सबै बालिका सहभागी भएका छन् छुटेका छैनन् । ’ चौधरीले भन्नुभयो ।
अभियान अन्तरगत जिल्लामा १७ हजार ९९ बालिकालाई खोप लगाइने लक्ष्य रहेको थियो ।
जिल्लाको चार वटा पालिका गैँडाकोट र देवचुली नगरपालिका , बौदीकाली र बुलिङटार गाउँपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्म र कावासोती , मध्यविन्दु नगरपालिका , हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म गरी दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । साभार गोरखापत्र अनलाइन

ताजा अपडेट

खोजी गर्नुहोस