बालिका अधिकार संरक्षण गर्न नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता

बालिका अधिकार संरक्षण गर्न नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता

कावासोती ।  नीतिगत व्यवस्था गरेरै भए पनि बालिका अधिकार संरक्षण गर्न आफूहरू लाग्ने यहाँका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
नवलपरासी पूर्व (नवलपुरको ) देवचुलीमा जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालनको सहयोगमा आइतबार र सोमबार दुई दिनसम्म आयोजना गरिएको बालिका अधिकार संरक्षणका लागि क्षमता अभिवृद्धि कार्यशालामा सहभागी भएका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका हुन् । 
कार्यक्रममा सहभागी मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले समुदायमा रहेको छोरा छोरी बिचको विभेद अन्त्य गर्न पालिकाले नीतिगत व्यवस्था गर्ने कुरामा छलफल गर्ने बताउनुभयो । ‘हाम्रो समाजमा अझै पनि छोराछोरीमा काम र शिक्षामा ठुलो विभेद छ , घरमा छोरा होस् या छोरी दुवैलाई समान काम गर्ने वातावरण अभिभावकबाटै हुनुपर्छ , त्यसका हामीले हाम्रो खुसी पाठ्यक्रममा समेत केही कुराहरू समावेश गर्ने प्रयास गरेका छौँ । अब नीतिगत व्यवस्था गरेरै यो विभेद अन्त्य गर्न लाग्छौँ । ’ अधिकारीले भन्नुभयो ।
देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले पनि किशोर र किशोरी बिचमा हुने विभेद अन्त्य गर्न नगरपालिकाबाट विभिन्न कामहरू भइरहेको भन्दै पालिकाले नीति कार्यक्रममा समेत अब किशोरी अधिकार संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । किशोरीहरूको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न पालिका पछि नपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेत , मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बालिकाहरूमाथि हुने यौनजन्य हिंसा रोक्न उनीहरूलाई सचेतना प्रदान गर्ने तथा आत्मरक्षा तालिमहरू दिने कामलाई अनिवार्य गराउने बताउनुभयो । किशोरीहरूलाई शिक्षासँगै जीवन उपयोगी शिक्षा समेत सिकाउने र आत्मनिर्भर बनाउनका निम्ति सीप समेत सिकाउनुपर्ने उहाँहरूको जोड थियो ।
कार्यक्रममा मध्यविन्दु , कावासोती र देवचुली नगरपालिकाका प्रमुख , उपप्रमुख सहित कार्यपालिका सदस्य तथा महिला वडा सदस्यहरूको सहभागिता रहेको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले पालिकामा रहेका जनप्रतिनिधिहरुलाई लैङ्गिक दृष्टिकोणबाट क्षमता अभिवृद्धि गर्दै संवेदनशील बनाउन र स्थानीय सरकार सञ्चालन ऐनमा भएका काम कर्तव्य अधिकार प्रयोग गर्दै किशोरीहरूको अधिकार संरक्षण गर्न विशेष योजनाहरू बनाएर काम गर्न मदत पुगोस् भन्ने उदेशयले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता इन्दु तुलाधरले बालिका अधिकार संरक्षण कसरी गर्न के कस्ता काम गर्न सकिन्छ ? पालिका प्रमुख उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यहरू समेतको काम कर्तव्य र अधिकार के हो ? स्थानीय सरकार सञ्चालन ऐनमा भएका व्यवस्था के के छन् भन्ने बारेमा प्रस्ट पार्नुभएको थियो ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस