पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच .पी.भी. खोपले कुनै प्रकारको असर गर्दैन

पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच .पी.भी. खोपले कुनै प्रकारको असर गर्दैन

कावासोती ।  पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच .पी.भी. खोप लगाउँदा कुनै प्रकारको असर नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।
जनमानसमा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच .पी.भी. खोप लगाउँदा महिनावारी गडबडी हुने , सन्तान नहुने जस्ता भ्रामक कुरा फैलिएकाले त्यस्तो नभएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभएको छ । यो खोप परीक्षणका लागि नेपालमा लगाउन थालिएको हो कि भन्ने समेत भ्रम फैलिएकाले त्यस्तो नभई पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामका लागि यो खोप प्रभावकारी हुने भएकाले सरकारले खोप अभियान सञ्चालन गर्न लागेको
यो खोप नेपालमा यस अघि पनि परीक्षणका रूपमा लगाइसकिएको र अन्य ४५ वटा देशमा समेत लगाइसकिएकाले यस खोपबाट कुनै पनि प्रकारको हानी नहुने कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभएको छ । यही माघ २२ गतेबाट नवलपुर सहित देशैभर सुरु हुन लागेको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच पी भी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाउनका लागि अभिप्रेरित गर्ने र विद्यालय बाहिर रहेका त्यस्ता उमेर समूहका बालिकाहरूलाई समेत खोज पडताल गरी खोप अभियानमा सहभागी गराउन उहाँले सबै जनसमुदायमा अनुरोध समेत गर्नुभएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले देवचुलीमा बिहीबार आज आयोजना गरेको अभिमुखीकरण तथा अन्तरक्रियामा कार्यालय प्रमुख सिंहले एच।पी।भी।खोप किनेर लगाउँदा करिब सात हजार रुपैयाँ पर्ने तर नेपाल सरकारले निःशुल्क रूपमा खोप अभियान मार्फत खोप उपलब्ध गराएको बताउनुभयो । अभियान अन्तरगत नवलपुर जिल्लामा १७ हजार ९९ बालिकालाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । नवलपुर जिल्लामा मात्रै १२ करोड ८० लाख रुपैयाँ बराबरको खोप सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको उहाँले बताउनुभयो ।
एच।पी।भी। खोप अभियान २०८१ मा, जिल्लाभर २ सय ३० विद्यालय सहित कुल ३ सय २० खोप केन्द्र रहनेछन् ती खोप केन्द्रबाट १७ हजार ९९ छात्रा बालिकालाई खोप लगाइने कार्यालयका जिल्ला खोप फोकल पर्सन खरेल प्रसाद चौधरीले जानकारी दिनुभयो ।
कक्षा ६ देखि १० सम्म सञ्चालित सबै विद्यालय र सबै स्वास्थ्य संस्थामा खोप केन्द्र रहने छ । चौधरीका अनुसार जिल्लामा १७ हजार ९९ लक्षित सङ्ख्याका लागि १८ हजार ८ सय ३० भाएल खोप आएको छ ।
जिल्लाको चार वटा पालिका गैँडाकोट र देवचुली नगरपालिका , बौदीकाली र बुलिङटार गाउँपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान चल्ने छ भने , कावासोती र मध्यविन्दु नगरपालिका हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म गरी दुई चरणमा खोप अभियान सञ्चालन गरिने खोप फोकल पर्सन चौधरीले जानकारी दिनुभयो । चाइनामा बनेको सिकोलिन ब्राण्डको एच .पी.भी.खोप महिलाको बायाँ पाखुराको मांसपेशीमा सुईमार्फत दिइन्छ । आधा एमएलको सिङ्गल डोजको यो खोप एक पटक लगाए पछि लगाउनुपर्दैन ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले खोप अभियान सफल पार्न सबै मिलेर सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले खोप अभियान सफल पार्न र खोपका बारेमा फैलिएको भ्रामक कुरा चिर्नका लागि सञ्चार माध्यम र सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका निभाउने बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत कपिल पाण्डे, शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ लगायतले बोल्दै अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस