संविधानबाट प्राप्त उपलब्धीहरूलाई जनतासामु पुर्याउन आवश्यक छ – प्रदेश सभा सदस्य गाहा

संविधानबाट प्राप्त उपलब्धीहरूलाई जनतासामु पुर्याउन आवश्यक छ – प्रदेश सभा सदस्य गाहा

कावासोती । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धीहरूलाई आम जनतासामु पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
संविधान दिवसको अवसर पारेर बिहीबार कावासोतीमा भएको शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै सासंद गाहाले सो कुरा बताउनुभएको हो । राजनीतिमा महिला सहभागिता र अनिवार्य रुपमा दलित महिलाहरूको सहभागिता सुनिश्चितता , धर्म निरपेक्षता लगायतका धेरै राम्रा काम यही संविधान आएपछि भएको गाहाले बताउनुभयो । उहाँले संविधानमा केही कमीकमजोरीहरू रहे पनि त्यसलाई संशोधन गरेर लैजान सकिने बताउनुभयो । केही कमीकमजोरीकै कारण संविधान गलत छ भनेर भ्रम फैलाउन नहुने उहाँले बताउनुभयो ।
संविधानमा संशोधन गर्नु पर्ने कुरालाई संशोधन गर्नकै लागि अहिले दुई ठूला दल मिलेर सरकार बनाएको जिकिर गर्दै उहाँले अब जनतालाई आखाँमा छारो हाल्ने काम गर्न नहुने , संविधानमा भएको कमीकमजोरीलाई संशोधन गर्दै सबैको अपनत्व हुनेगरि संविधान बन्नुपर्ने बताउनुभयो । आफू कार्यान्वयन गर्ने सदस्य भएका कारण पनि केही अप्ठेराहरू समेत रहेको अवगत भएपनि , त्यसको निकास निकाल्न पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पूर्व गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले संविधान आएकै कारण अहिले तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारबाट धेरै विकास निर्माणका काम भएको उहाँले बताउनुभयो । उहाँले आफ्ना विगतलाई सम्झदै नवलपरासी एउटै जिल्ला हुँदा सानातिना कामका लागि पनि सदरमुकाम परासी पुग्नुपर्ने बाध्यताको अहिले अन्त्य यही संविधान बनेकै कारण भएको बताउनुभयो । संविधान आएकै कारण नवलपुरका पहाडी भेगका जनताले विकासको अनुभुति गर्न पाएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य जीवन श्रेष्ठले संविधानमा धेरै अधिकारका कुरा भएको तर केही कुराहरूमा संशोधन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले देशमा स्थाई सकार निर्माण गर्न , संघीयता दरिलो बनाउन र समावेशिता बलियो बनाउनका लागि पनि केही कुरा संविधानमा संशोधन हुनुपर्ने देखिएको उहाँलेको भनाई थियो ।

कार्यक्रममा बोल्दै पूर्व गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले संविधान जारी गर्न सबै राजनैतिक दल लगायत देशका सबै नागरिकको उत्तिकै भूमिका रहेको बताउनुभयो । उहाँले संविधान सफल बनाउन संविधानमा उल्लेख भएका कुरालाई सबैले पालना गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवाली , नेकपा एमालेको तर्फबाट भिमलाल कंडेल नेपाली काङ्ग्रेसको तर्फबाट कपिलदेव भुसाल लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गैडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी , प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल , कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेत , विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवार , लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख , विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहिद र बेपत्ता परिवारका सदस्यहरूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा जिसस प्रमुख बाबुराम विश्वकर्माले कार्यक्रमको समापन गर्दै संविधान सबैको भएका कारण सबै मिलेर यसलाई सफल र बलियो बनाउन पर्ने बताउनुभयो । नेपाली जनताको त्याग र लामो संघर्सपछि पाएको उपलब्धी भएको हुँदा यसलाई जोगाइराख्न सबै एक भएर लाग्न जरुरी रहेको उहाँको भनाई थियो ।
जिसस उपप्रमुख सकुन्तला लम्सालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समन्वय अधिकारी जितेन्द्र केसीले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस