पूर्वाधार विकासमा कावासोतीको लगानी, एक वर्षमा सकिए चारसय योजना

पूर्वाधार विकासमा कावासोतीको लगानी, एक वर्षमा सकिए चारसय योजना

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले पूर्वाधार विकासमा ठूलो लगानी गरेको छ ।

नगरपालिका भित्रका १७ वटै वडामा पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा गत वर्ष मात्र  करिब चार सय योजना सम्पन्न भएका छन् । 

विकासको विभिन्न सूचक मध्यएको एक पूर्वाधार क्षेत्रको विकासमा पालिकाले निरन्तर काम गर्दै आएको छ । सडक कालोपत्र , स्तरन्नोति देखि नाला निर्माणको काममा नगरपालिका तिब्र  रुपमा लागि रहेको छ ।  कावासोती नगरपालिकाले गत वर्ष नगर, शहरी शासकिय तथा पूर्वाधार विकास र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पूर्वाधार क्षेत्रमा करिब चारसय योजना सम्पन्न गरेको कावासोती नगरपालिका योजना शाखा प्रमुख दिनेश भण्डारीले बताउनुभयो ।  सडक कालोपत्र, स्तरोन्नती , खानेपानी, ढल तथा सिचाई कुलो निर्माण, खोला तटबन्ध, विद्यालयका भवन निर्माण तथा मर्मत, धार्मिक स्थल निर्माण तथा मर्मत, पार्क तथा खेल मैदान निर्माण, पर्यटकीय पूर्वाधारमा निर्माण लगायतका क्षेत्रमा नगरपालिकाले पूर्वाधार विकास अन्तरगत  काम गरेको शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

कावासोती नगरपालिकाले गत वर्ष ५ दशमलब ८ किलोमिटर सडक कालोपत्र गरेको छ । यस्तै ९ दशमलब ३ किलोमिटर बाटो ग्रावेल, २६ दशमलब ७ किलोमिटर बाटो मर्मतको काम सम्पन्न गरेको छ । यस्तै गरि नगर भित्रका विभिन्न स्थानमा ४५ वटा कल्भर्ट  राखिएको छ ।  नगरपालिकाले १ सय ९३ मिटर बाटो ढलान , ७  सय ७२ मिटर स्लेव निर्माण , ३ दशमलब ६ किलोमिटरमा बजार क्षेत्रका बाटोमा मोजाइक टायल निर्माण गर्ने काम गरेको छ भने २ सय २७ वटा ह्युमपाइम राख्ने काम भएको छ ।

पूर्वाधार विकासले विकासका अन्य पाटोहरू  सँग बोकेर हिड्छ भन्ने विषयलाई मध्यनजर गरि नगर भित्रका सहज रुपमा यातायात संचालन र आवत जावतलाई सहज बनाउन बाटोमा जति काम गरेको छ यो संगै खानेपानीको क्षेत्रमा समेत उत्तिकै कामहरू अघि बढेकाछन् । खानेपानीको पहुँच सहज  रुपमा सबैतिर पुर्याउने उद्देश्य अनरुप २१ दशमलब ३ किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ भने एउटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ । 

पूर्वाधार तर्फनै पक्की नाला निर्माणको काम समेत वडा वडामा तिव्र रुपमा अघि बढेको छ ।  नगरपालिका भित्र ढल व्यवस्थापनका लागि  गत वर्ष ३७ किलोमिटर नयाँ पक्कि नाला निर्माणको काम भएको छ ।  यस्तै नाला मर्मतको काम समेत गरिएको छ ।   खोला नियन्त्रण तथा व्यवस्थापनमा समेत गत वर्ष काम गरिएको छ ।  गत वर्ष १३ सय मिटर बढी खोला तटबन्धको काम भएको  छ । यो संगै विभिन्न क्षेत्रमा वाल कम्पाउण्ड लगाउने , मेसजाली सहित तारबार गर्ने काम समेत पालिकाले गरेको छ ।   नगरपालिकाले विद्यालय तर्फको पूर्वाधार विकास गर्ने काम समेतसँगै अघि बढाएको छ । गत अन्तरगत गत वर्ष ७९वटा योजना सम्पन्न भएका छन् । धर्म ,संस्कृत संरक्षणका लागि मन्दिर , चर्च ,मस्जिद, गुम्बा लगायतका निर्माण तथा मर्मतका २९ वटा काम भएकाछन् । पार्क ,पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र खेलमैदानका काम समेत गरि गत वर्ष १४ वटा योजना सम्पन्न भएकाछन् । 

नगरपालिकाले शहरी शासकीय तथा पूर्वाधार आयोजनाबाट मात्र ७३ वटा योजना सम्पन्न गरेको छ । यस आयोजनाबाट सडक तथा नाला, खानेपानी, सरसफाइ ,सिचाई, स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा योजना छनौट गरि काम भएकाछन् । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत समेत पूर्वाधारको क्षेत्रमा काम गरेको छ । उपभोक्ता समितिबाट तथा ठेक्का प्रक्रियाबाट यि  योजनाहरू सम्पन्न भएकाहुन् । कावासोती नगरपालिकाले पूर्वाधार विकासका लागि विभिन्न क्षेत्रलाई समेटी काम गरेको छ ।

अहिले गरिएका कामले   भोलीका दिनमा पूर्वाधार क्षेत्रको विकासलाई बलियो रुपमा स्थापित गर्न मद्धत पुग्ने कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभयो । सदरमुकामको नगरपालिका समेत भएकाले अहिलेको चरणमा पूर्वाधारको विकासलाई विशेष रुपमा अघि बढाउन आवश्यक रहेको हुँदा यस तर्फ विभिन्न योजनाहरू संचालन गरिएको उहाँको भनाई छ । पालिकाले पूर्वाधार विकासको क्रमलाई निरन्तर संचालन गर्दै अघि बढ्ने नगर प्रमुख भुसालले बताउनुभयो । विसकासको एउटा सूचक पूर्वाधार समेत भएकाले यसको विकासलाई प्राथमिकतामा पारेर काम गरिएको नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभयो । 

नगरपालिकाले आफ्नो नियमित काम मार्फत पूर्वाधार विकाससँगे  आर्थिक विकास, सामाजिक ,शैक्षिक क्षेत्र ,कृषि ,पशुपालनका क्षेत्रमा समेत काम गरिरहेको कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षमा समेत सबै क्षेत्रलाई प्राथमिकता दिएर काम अघि बढाउन लागिएको उहाँको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस