राजनितिमा युवा विद्यार्थिहरुले अग्रसरता देखाउनुपर्यो – कोइराला

  • नवलपुर आज
  • २०८१ भाद्र १९, बुधबार (७ महिना अघि)
  • ४६९ पटक पढिएको
राजनितिमा युवा विद्यार्थिहरुले अग्रसरता देखाउनुपर्यो – कोइराला

दिपेन्द्र रेग्मी , कावासोती ।  नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले अब देशको राजनीतिमा युवा विद्यार्थीहरूले अग्रसरता देखाउनुपर्ने समय आइसकेको बताउनुभएको छ ।
काङ्ग्रेस निकटको नेपाल विद्यार्थी सङ्घ कावासोती नगर कार्यसमितिले आज आयोजना गरेको प्लस टु तथा विविध सम्मान, सांस्कृतिक कार्यक्रम एवं विद्यार्थी सम्मेलन २०८१ लाई सम्बोधन गर्दै उहाँले युवा जागरुक भए मात्रै देश निर्माण हुने बताउनुभएको हो । नवलपुर क्षेत्र नं. १ का सङ्घीय सासंद समेत रहनुभएका कोइरालाले नेविसङ्घले विद्यार्थीका हक अधिकारका विषयलाई अझ जवरजस्त तवरले उठाउँदै राष्ट्रिय राजनीतिलाई समेत मार्ग निर्देश गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले आफ्नो बाल्यकालमा निकै रटेर पढ्दा पनि सोचेअनुरूप प्रतिफल नआउँदा पढ्न छाडेर कृषि गर्ने सोच पलाएको बखत बुवा वि.पि. कोइरालाको मनोसामाजिक परामर्शका कारण सफल व्यक्ति बन्न पढ्नै पर्ने धारणा विकसित भएको सुनाउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस गण्डकी प्रदेश महामन्त्री एवं पूर्व प्रदेशसभा सदस्य विष्णु प्रसाद लामिछानेले पछिल्लो समय विद्यार्थिहरुमा बढेको विदेश मोहले देश समस्या तर्फ गैरहेको बताउनुभयो । उहाँले आफूले बाल्यकालमा निक्कै कष्टपूर्ण अवस्थामा विद्यालय शिक्षा लिएको स्मरण गर्दै अहिले नेपालमै उत्कृष्ट शिक्षालयहरू रहेकाले उच्च शिक्षाका लागि विदेश किन जानुपर्‍यो ? भन्दै प्रश्न गर्नुभयो । लामिछानेले भन्नुभयो ः “मैले ४ कक्षा पढ्दा ३ घण्टा पर, हिँडेर एकहप्तालाई चाहिने सबै वस्तु लिएर गएर, डेरा गरेर पढ्नुपर्थ्यो, अहिले देशमै सरकारले पनि र निजि क्षेत्रले पनि शिक्षामा राम्रो लगानी गरेको छ । लगानी सरकारी होस् वा निजी तर यहीँ उत्कृष्ट शिक्षा छ, यहीँ उच्च शिक्षा छ ।” उहाँले विभिन्न देशहरूले अध्ययनमा गएका विद्यार्थीलाई फिर्ता गरिदिने बताईरहेकाले कयौँ विद्यार्थीहरू विदेशमा अलपत्र अवस्थामा समेत रहेको उल्लेख गर्दै भन्नुभयो ः “कति देशले त नयाँ विद्यार्थी भर्ना नलिने भनिरहेछन्, कतिले भएका विद्यार्थीलाई फर्काउँदैछन्, त्यसैले नेपालमै प्रशस्त सम्भावनाहरू छ, यहिँ सम्भावनाको खोजी गरौँ ।”

नेविसङ्घ कावासोतीका सभापति कुमार क्षेत्रिको सभापतित्व भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य एवं नेविसङ्घ निवर्तमान महामन्त्री उर्मिला थपलिया, काङ्ग्रेस नवलपुर जिल्ला सभापति एवं प्रदेश सभा सदस्य महेन्द्र ध्वज जि.सि., काङ्ग्रेस महासमिति सदस्य ओमकला गौतम, काङ्ग्रेस प्रदेश सदस्य अशोक वस्ताकोटि, नवलपुर जिल्ला उपसभापति बालकृष्ण घिमिरे, सचिव महेन्द्र पोख्रेल लगायतको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एसईई एवं प्लस टुमा जिल्लामै उत्कृष्ट अंक ल्याएर उत्तिर्ण भएका विद्यार्थिहरुलाई सम्मान समेत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस