बालुवाडाँडा स्थित भ्यु टावरमा सरसफाइ

बालुवाडाँडा स्थित भ्यु टावरमा सरसफाइ

कावासोती ।  कावासोती एकमा रहेको जल देवी प्राथमिक विद्यालयका शिक्षक, तथा विद्यार्थीहरूले मङ्गलबार बालुवाडाँडा स्थित भ्यु टावरमा सरसफाइ गरेका छन् ।
विद्यालयको सेवा क्षेत्रभित्र रहेको भ्यु टावरमा अत्याधिक प्रदुषण भएकोले कक्षा पाँचको स्वास्थ्य विषयको वातावरण सरसफाइ पाठको परियोजना कार्य अन्तर्गत खाजा खाने समय पश्चात् सरसफाइ कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक सुमित्रा भुसालले बताउनुभयो ।
नवलपुरको सदरमुकाम कावासोती –१, बालुवाडाँडामा बनेको भ्यु टावर तीन वर्ष अघि निर्माण सम्पन्न भएको हो । तर, भ्यु टावर सञ्चालनमा आउन नसक्दा अहिले नशालु पदार्थ सेवन गर्नेहरूको अखडा बनेको छ ।
६८ लाख रुपियाँमा निर्माण सम्पन्न भएको भ्यु टावर पाँचतले छ । टावर निर्माणको काम सकिए पनि सञ्चालन कसले, कसरी गर्ने भन्ने यकिन नहुँदा अहिले निर्माण भएको भवनमा पनि क्षति पुग्न थालिसकेको छ ।
भ्यु टावरको माथिल्लो तलामा गएर जाँड रक्सी खाने अखडा बनाएको स्थानीयको गुनासो छ ।
भ्यु टावर हेर्नकै लागि बजारबाट जानेहरूले पनि भ्यु टारको अवस्था निकै प्रदुषित बनेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । केही दिन अघि मात्रै पनि समता स्कुलका प्रिन्सिपल महेश कुमार भुर्तेलले भ्यु टावरको अवस्था निकै प्रदुषित बनेको , फोटो भिडियो खिच्न पनि अशोभनीय दृष्य देखिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस