पेसागत शिक्षक संघ/संगठन/युनियनहरु र स्थानीय सरकारबीच संवाद र सहकार्य मार्फत सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने गराउने उद्येश्य सहित कार्यक्रमको सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
कावासोती नगरपालिकाको तर्फबाट नगर प्रमुख विष्णुप्रसाद भुसाल र मध्यविन्दु नगरपालिकाको तर्फबाट नगर प्रमुख भिमलाल अधिकारीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

विभिन्न पाँचवटा क्षेत्रमा रहेर कार्य गर्ने गरि सहमति पत्रमा हस्ताक्षर गरिएको छ । विद्यार्थीका लागि अनिवार्य शिक्षा, विपन्न ,दलित परिवाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययन गर्न छात्रवृतिको व्यवस्था, विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप संचालन गर्ने , विद्यालयका पूर्वाधारहरु बालबालिका, महिला, अपाङ्गमैत्री बनाउन पूर्वाधारमा लगानी बढाउने, विद्यालयलाई प्रविधिमैत्री बनाउने, विद्यालय सुशासनको पक्षमा सुधार गर्ने, शिक्षक र विद्यालयका कर्मचारीका लागि गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षकहरुलाई प्रविधि प्रशिक्षण र आवश्यक पेसागत दक्षता विकास तालिम प्रदान गर्ने, विद्यालयका कर्मचारी र बालबिकासका शिक्षकको सेवा सुविधा लगायत , सहजीकरण केन्द्रलाई थप सुदृढीकरण ,लैंगिक समानताका लागि प्रसुति बिदामा बस्ने शिक्षकका लागि वैकल्पिक शिक्षकको प्रबन्ध मिलाउने, नेतृत्वमा महिला शिक्षकको संख्या बढाउने, महिला शिक्षकको हकमा कार्यस्थलमा स्तनपानको लागि उचित स्थान र समयको व्यवस्था मिलाउने लागायतका विषय सहमति पत्रमा समावेस गरिएको छ ।

यसै गरि सामाजिक संवादका लागि शैक्षिक संवाद समितिलाई क्रियाशील बनाउने , संघ,संगठन तथा युनियनहरु सँग सामाजिक संवाद गर्ने र उक्त संवादमा शिक्षाको गुणस्तर सुधार, शिक्षाको बजेट विनियोजन,शिक्षक र विद्यालय कर्मचारीहरुको अधिकार र जिम्मेवारीहरु, दीर्घकालीन शिक्षा योजनाको विकास र कार्यान्वयनमा प्रगति लगायतका विषयमा समेत छलफल गरिने छ ।
यस कार्यक्रम अन्तरगत नवलपुरमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि शिक्षकलाई दुईदिने तालिम समेत प्रदान गरिएको छ ।

सहमति पत्रमा हस्ताक्षर पछि बोल्दै कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले शिक्षा विना देशको विकास हुन नसक्ने बताउनुभयो । तर देशको परिवेश अनुसार शिक्षाको मोडल छ की छैन भन्ने तर्फ भने पुर्नविचार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले दक्ष जनशक्ति निर्माणका लागि राष्ट्रिय शिक्षा नितिनै परिवर्तन गरि समयले माग गरे अनुसार बनाउँदै लानुपर्ने बताउनुभयो ।
मध्यविन्दु नगर पालिका नगर प्रमुख भिमलाल अधिकारीले शिक्षाको सुधार विना अन्य कुनै क्षेत्रको सुधार नहुने बताउनुभयो । शिक्षानै सबै क्षेत्रको मुहान भएकाले मुहानै सुधार गर्नुतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । भौतिक विकासमा मात्र लगानी बढाउनु भन्दा पनि चेतनाको स्तर विकास गर्न शिक्षा क्षेत्रमा उत्तिकै लगानि आवश्यक भएको उहाँले बताउनुभयो ।

व्यवहार परिवर्तन गर्ने विषयमा शिक्षालाई जोड्न जरुरी रहेको र यसो गरेमात्रै सोच अनुसारको जनशक्ति तयार हुने नगर प्रमुख अधिकारीले बताउनुभयो । यसका लागि पाठ्क्रममा सोही अनुसारका विषय जोड्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारीले देश भरका सबै पालिकामा कार्यक्रम संचालन गर्ने लक्ष्य सहित अघि बढेको बताउनुभयो ।हाल सम्म करिब २० वटा पालिकामा सुरु गरिसकिएको उहाँले बताउनुभयो ।
नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले शिक्षाको गुणस्तर थप सुधारका लागि सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । राज्यका तीन तहले यसको सुधारको दायित्व लिनुपर्ने बताउनुभयो । सबैले समान दायित्व लिने हो भने शिक्षाको क्षेत्रमा देखिएका विधमान समस्या समाधान हुने उहाँले बताउनुभयो ।

व्याप्बसन नवलपुरका वरिष्ठ उपाध्यक्ष भिमलाल कंडेलले पालिका बिच भएको सहमति कार्यान्वय गरि जानुपर्ने र यसले समग्रमा शिक्षाको गुणस्तर विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कार्यान्वयनसँगै फलोअप समेत गर्दै जानुपर्ने बताउनुभयो । राज्यले अहिले पनि संस्थागत विद्यालयहरुलाई विभिन्न पक्षमा विभेद गर्दै आएको भन्दै यसलाई सच्चाउनुपर्ने बताउनुभयो । सामुदायिकमा महिनावारी हुने छात्रालाई प्याड दिने तर राज्यकै अर्कि किशोरी संस्थागतमा पढ्दा सो सुविधा नदिनु भनेको आफैमा ठूलो विभेद भएको उहाँले बताउनुभयो । अन्य यस्तै विभेद रहेको भन्दै विभेद हटाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै होमकुमार थापाले विद्यालयलाई बालमैत्री, शिक्षक मैत्री, महिला मैत्री वातावरण निर्माण गर्ने र विद्यालयको भौतिक सुधार गर्दै समग्रमा शिक्षाको गुणस्तर वृद्धि गर्नु कार्यक्रमको चाहाना भएको बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसवहादुर शाहीले संचालन गर्नुभएको कार्यक्रममा इलम बहादुर शाहीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरका अध्यक्ष हरिप्रसाद न्यौपाने सहित विभिन्न संघ,संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।