कावासोती । नवलपुरको कावासोतीमा निशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवन, नेपाल नेत्रज्योति सङ्घ नवलपरासी पूर्व नवलपुर कावासोती नगरपालिकाको सयुंक्त आयोजनामा आँखा शिविर सुरु गरिएको हो ।
भदौ ७ गतेसम्म सञ्चालन हुने आँखा शिवरको पहिलो दिन आज कावासोती नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ३ मा निशुल्क आँखा शिविर भएको छ । कावासोती नगरपालिका भित्र छ स्थानमा आँखा शिविर संचालन हुने छ । आज वडा नम्बर ६–,को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसालले शिविरको उद्घाटन गर्नुभएको छ । शिविरको उद्घाटन गर्दै नगर प्रमुख भुसालले शिविरमा आँखा जाँच गराएर लाभ लिन अनुरोध गर्नुभयो । दृष्टि कमजोर हुँदा धेरै असहज हुने र आँखा मानवको महत्वपूर्ण अङ्ग भएकाले यसको परीक्षण गरि लाभ लिन उहाँले अनुरोध गर्नुभयो । विभिन्न संस्थासँगको समन्वयमा सबै वडाका सेवाग्राहीलाई सुविधा दिने गरि शिविर संचालन गर्न लागिएको उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका वडा नम्बर –६, का वडा अध्यक्ष यम बहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले घर नजिकै निशुल्क रुपमा शिविरको आयोजना गरिएकाले सेवा लिन सबैमा अनुरोध गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेल सहितको उपस्थिति रहेको थियो ।
आजनै कावासोती नगरपालिका वडा नम्बर –३, को शिवमन्दिर स्वास्थ्य चौकीमा समेत शिविर गरिएको छ । वडा भित्रका नागरिकको आँखा जाँचमा शिविरले सहयोग पुग्ने वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । कावासोती –३, मा भएको आँखा शिविरको नगर प्रमुख विष्णुप्रसाद भुसाल , प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल सहितको टोलीले निरीक्षण समेत गरेको थियो ।
दोस्रो दिन भोलि कावासोती –१४ र १७ स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सञ्चालन हुनेछ । यसैगरी ७ गते शुक्रबार कावासोती –१०, र कावासोती –१२ मा शिविर सञ्चालन हुने छ । तीन दिन सम्म कावासोती नगरपालिका भित्रका ६ स्थानमा हुने शिविरबाट मोतियाबिन्दुका बिरामीको कावासोती सभापति चोकमा रहेको भरतपुर आँखा अस्पताल कावासोतीमा निशुल्क रुपमा अपे्रशन गरिने स्वास्थ्य अधिकृत पारेश्वर भुर्तेलले बताउनुभयो ।