कावासोती । कामदारको लापरवाहीका कारण कावासोती ३ को केही भागमा आज हाई भोल्टेज विद्युत प्रवाह हुँदा लाखौँको विद्युतीय सामाग्रीमा क्षति पुगेको छ ।
कावासोती नवदुर्गा चोक आरम्भ एकेडेमी आसपासका करिव ५० बढी घरको विद्युतीय सामग्रीमा क्षति पुगेको उपभोक्ताले गुनासो गरेका छन् । नव दुर्गा चोकमा मिष्ठान्न पसल र दुग्ध डेरी सञ्चालन गर्नुभएका कृष्ण मरासिनीले डिस्प्ले काउन्टर , फ्रिज , डिफ्रिज , बल्ब , पङ्खा लगायतका सामाग्रीमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार करिव पाँच लाख बराबरको क्षति पुगेको छ ।
त्यस्तै डिलर सञ्चालक राजु अधिकारीको एसी, ल्यापटप पङ्खामा क्षति पुगेको छ भने , राधिका पोख्रेलको बल्ब , पङ्खामा क्षति पुगेको बताउनुभयो । यस्तै रामकृष्ण पुडासैनीको एसी , बल्बमा क्षति पुगेको छ भने , सावित्री घिमिरेको दुई वटा पङ्खा र बल्बमा क्षति पुगेको छ । अन्य ५० बढी उपभोक्ताहरूका लाखौँ रुपैयाँ पर्ने विद्युतीय सामग्रीमा क्षति पुगेको गुनासो गर्नुभएको छ ।
स्थानीयले कामदारको लापरवाहीकै कारण भएको हुँदा क्षतिपुर्ती पाउनुपर्ने माग गरेका छन् । पीडित मरासिनीले एकातिरको लाइन अर्कोतर्फ जोड्दा हाई भोल्टेज प्रवाह हुन पुगेको सुइको आफूले पाइको बताउनुभएको छ । यस विषयमा बुझ्नका लागि काम गर्दै आएको ठेकेदारसँग फोन मार्फत कुरा समेत गरेको तर आफू बाहिर रहेको कारण जानकारी नआएको बताएको उहाँले बताउनुभएको छ ।
यता विद्युत प्राधिकरण कावासोतीका प्रमुख सूर्यनारायण मण्डलले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउनुभएको छ । आज बिदाको दिन भएकाले कार्यालय बन्द रहेको र बिदाको दिन काम नहुने बताउनुभयो । उहाँले भोलि कार्यालय समयमा यस बारेमा बुझेर मात्रै के कारणबाट यस्तो भएको हो बल्ल जानकारी दिनसक्ने बताउनुभएको छ ।
सभापति चोकदेखि नवदुर्गा चोक सम्म केही दिन अघिबाट नयाँ पोल गाडेर तार टाग्ने काम चलिरहेको छ । उक्त काममा खटिएका केही कामदार मादक पदार्थ सेवन गरेर काममा खटिएको देखेको स्थानीयको भनाई छ ।
अदक्ष कामदारबाट नै काम हुँदा हाई भोल्टेज प्रवाह हुन पुगेको स्थानीयको भनाई छ । यस विषयमा छानविन हुनुपर्ने र तत्काल क्षतिपुर्ती दिइनुपर्ने पीडितको माग छ ।