दौतरी जुटाउने हर्कपुरको चौतारी

दौतरी जुटाउने हर्कपुरको चौतारी

नवलपुर । हर्कपुरका ८१ वर्षीय ज्येष्ठ नागरिक धनपति सापकोटालाई बिहानको खाना कतिबेला पाक्छ र, छिटोछिटो खाएर चौतारीमा पुगौँ भन्ने हतारो हुन्छ । खाना खाएपछि उहाँ चौतारोमा आइहाल्नुहुन्छ ।

बेल बहादुर भण्डारीलाई पनि चौतारीमा आउन सधैँ हतारो नै हुन्छ । उहाँ उमेरले ८२ वर्ष पुग्नुभयो । खाना खाएपछि उहाँ चौतारी आउन हिडिहाल्नुहुन्छ । अर्का ज्येष्ठ नागरिक रामलाल शर्मा ८३ वर्षको पुग्नुभयो । उहाँलाई पनि खाना खाइसकेपछि एकछिन पनि घरमा बस्न मन लाग्दैन, चौतारीमै दौडिहाल्न मन लाग्छ । किनकी चौतारीमा धेरै दौतरी भेट्न पाइन्छ । मनभरिका पीरव्यथा , घरपरिवार अनि समाजका अनेकौँ कुरा साट्न पाइन्छ । त्यसैले पनि उहाँहरू बिहानको खाना खादा बित्तिकै चौतारीमा दौडिनुहुन्छ ।
गैडाकोट नगरपालिका १२ हर्कपुर चोकबाट चोरै भित्रपट्टी कृष्ण मन्दिरसँगै जोडिएको ठूलो बर पिपलको चौतारी छ । यस चौतारीले धेरैलाई सितलता त प्रदान गरेको छ नै यहाँका ज्येष्ठ नागरिकको दौतरी भेला गर्ने थलो समेत बनेको छ ।
चौतारीमुनि टहरा निर्माण गरेर कुर्सी राखिएका छन भने पंखाको पनि व्यवस्था रहेको छ । खानेपानी शौचालय सबैको व्यवस्था राम्रो रहेको छ ।
हर्कपुरको यस चौतारीमा कहिले त ५०÷,६० जनासम्म पनि ज्येष्ठ नागरिक जम्मा हुन्छन् । दैनिकजसो कम्तीमा ३० जना ज्येष्ठ नागरिकहरू जम्मा भएर भलाकुसारी गर्छन् । तितामिठा गफ गर्छन् । भजनकीर्तन गाउँछन् । रमाइलो गर्छन् । आफ्ना साथीको जन्मदिन मनाउँछन् । अनि कोही कसैलाई दुख परेमा दुखमा सामेल पनि हुन्छन । झट्ट देख्दा त बुढापाका भेला भएका छन गफ लाएका छन भनेर कतिपयले सहजै रुपमा लिन्छन् पनि होला तर यो भेलाले उनीहरूलाई एक्लो भएको महसुस गर्न दिएको छैन । घरभित्रै एक्लै गुम्सिएर बस्नुपर्ने अवस्थाबाट मुक्त पारेको छ ।
पछिल्लो समय वृद्धवृद्धाहरू एक्लिदै गएका छन् । खासगरि बजार क्षेत्रमा यो समस्या बढ्दै गएको छ । गाउँघरमा पनि यो समस्या सुरु भइसकेको छ । समय परिस्थिति नै यस्तो बन्दै गइरहेको छ । छोराबुहारी कामको सिलसिलामा घर बाहिर जानुपर्ने वा विदेशिनुपर्ने , नातिनातिनाहरू पढाइका लागि दौडिनुपरेको । डिजिटल युगमा मानिसहरू डिजिटल दुनियाँमै व्यस्त हुन पनि थालेका छन् । कतिपय ज्येष्ठ नागरिकले समेत मोबाइललाई नै आफ्नो साथी बनाउन थालेका छन् । मोबाइलमै भिडियो हेरेर वा म्यासेन्जरमा घरबाट टाढा भएका परिवारका सदस्य आफन्तसँग बोलेर दिनरात कटाउन थालेका छन् । वरपर छरछिमेकमा जाने कुराकानी गर्ने समय बिताउने प्रचलन हराउँदै गएको छ ।
जसका कारण ज्येष्ठ नागरिकहरू एक्लिदै गएका छन् ।
हर्कपुरको चौतारीले यहाँ वरपरका ज्येष्ठ नागरिकको एक्लोपनको अन्त्य गरिदिएको छ । भने मनको भारी बिसाउने अनि समय व्यतीत माध्यम बनेको छ ।
तीन वर्ष अघि ज्येष्ठ नागरिक चौतारी समूह नामकरण गरेर जमघट गर्ने थलोका रुपमा यस चौतारीलाई ज्येष्ठ नागरिकले प्रयोग गर्दै आउनुभएको छ । समूहका अध्यक्ष शशिधर सापकोटाले समूहमा समूह्मा ९३ जना आबद्ध रहेको जानकारी दिनुभयो । त्यसमध्ये ६ जना दिवगत हुनुभइसकेको छ । ज्येष्ठ नागरिकको श्रीमान र श्रीमतीको मृत्यु भएमा समूह मार्फत् भेटी पुर्याउने, भेटघाट गर्न पुग्ने गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
समूहमा आबद्ध भएका ज्येष्ठ नागरिकहरुको जन्मदिन परेमा चौतारीमा भेला भई मिठाई , दही ,केरा फलफूलको व्यवस्था गरेर खान दिने र दोसल्ला ओठाएर सम्मान गर्ने गर्दै आएको गुप्त प्रसाद रेग्मीले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस