लेन पालना र तीब्र गति रोक्ने अभियानमा ट्राफिक प्रहरी

  • नवलपुर आज
  • २०८१ अषाढ २९, शनिबार (१० महिना अघि)
  • २७१ पटक पढिएको
लेन पालना र तीब्र गति रोक्ने अभियानमा ट्राफिक प्रहरी

नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले लेन पालना नगर्ने र तीब्र गतिमा सवारी चलाउने चालकलाई लक्षित गर्दै अभियान सञ्चालन गरेको छ ।
जिल्लाको विभिन्न ठाउँमा दुई लेनकै सडक निर्माण भइसकेको अवस्थामा पनि चालकले सही लेनको प्रयोग नगर्दा दुर्घटनाको जोखिम बढेको गुनासो आएपछि ट्राफिक प्रहरीले पहिलो चरणमा सचेतना अभियान सुरुआत गरेको कार्यालय प्रमुख अच्युतराज आचार्यले जानकारी दिनुभयो ।
कावासोतीबाट यो अभियानको सुरुआत गरिएको हो । कावासोतीको थकाली चोक र फिल्महल चोकमा दुई दिनसम्म मोटरसाइकल स्कुटी , कार , बसलाई रोकेर चालकलाई सचेत गराउने काम गरेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । भर्खर मात्रै चार लेन सडक निर्माण भएको र लामो समयसम्म दुई लेनमा मात्रै हिड्ने बानी परेका यहाँका स्थानीयले सही लेनको प्रयोग गर्ने बानी बसाल्न नसकेको अवस्थालाई मध्यनजर गर्दै पहिलो चरणमा सम्झाई बुझाइ गरि सही लेनको प्रयोग गर्ने बानी बसाल्ने र दोहोरिएमा अन्य कारवाही प्रकृयामा जाने आचार्यले बताउनुभयो । दुवैतर्फ राजमार्ग निर्माण पुरा भएको कावासोतीको मुख्य मुख्य चोकहरू फलफूल चोक , इन्द्र चोक, फिल्महल चोक , थकाली चोकमा सम्झाई बुझाई अभियान सञ्चालन गर्ने र अन्य पालिकामा समेत यो अभियान जारी राख्ने ट्राफिक कार्यालयको योजना रहेको छ ।
कावासोती र देवचुली र गैँडाकोटको केही स्थानमा अहिले दुईतर्फी रुपमा सडक कालोपत्रे भएको छ । तर चालकले सही लेनको प्रयोग गर्ने बानी बसाल्न सकेका छैनन् । भने अर्को तर्फ तीब्र गतिमा सवारी हाक्ने गरका छन् । जसका कारण कालोपत्रे भएको क्षेत्रमा दुर्घटना समेत बढेको छ । सडक वारपार ( क्रस ) गर्ने पैदल यात्रु र साना सवारी साधनलाई सकस बन्दै गएको छ । कावासोतीका स्थानीय प्रेम पौडेल भन्नुहुन्छ – ‘म थकाली चोकको बासिन्दा हुँ बाटो पिच भएपछि हामीलाई बाटो काट्नै निकै सकस हुन थालेको छ । सवारी हुइँकाउँदै आउछन । बीस पच्चीस मिनेटसम्म कुर्नुपर्छ । कुर्दाकुर्दा हैरान भएर हतारमै बाटो काट्न समेत खोज्छन् कतिले त जसले गर्दा दुर्घटना समेत बढेको छ ।’
अर्का स्थानीय माया पोख्रेलको गुनासो पनि उस्तै छ । ‘बच्चालाई स्कुल लैजाने समयमा बाटो क्रस गर्नै समस्या हुन्छ । दुईतर्फी बाटै सवारी दोहोरो नै चल्छन् । भएन भनेर गाडीहरू कुदाउँदै ल्याउँछन् । हामी अभिभावकलाई सधैँको हतार नै हुने , चोकचोकमा प्रहरी खटाएर वा जेब्रा क्रसिङ बनाएर यसको समाधान गर्नुपर्ने देखिएको छ । ’
नारायणगढ बुटवल सडक निर्माणका क्रममा रहेको कारण जेब्रा क्रसिङ बनाउने वा बाटो क्रस गर्ने निश्चित स्थान तोक्न सक्ने अवस्थामा ट्राफिक प्रहरी नरहेको प्रमुख आचार्यको भनाई छ । तर गुनासोलाई सम्बोधन गर्नका लागि लेन पालना र तीब्र गति नियन्त्रण गर्न अभियान चलाएको उहाँले बताउनुभयो । यो समस्याको समाधान भनेको पहिले चालक जिम्मेवार बन्ने ,लेन पालना गर्ने र सवारी सुस्तरी हाक्ने र सबै नागरिक जिम्मेवार भएर आफ्नो कर्तव्य पालना गर्नु नै रहेको उहाँले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस