देवचुलीमा आध्यात्मिक शिक्षा कार्यक्रम

देवचुलीमा आध्यात्मिक शिक्षा कार्यक्रम

कावासोती । देवचुली नगरपालिकामा मङ्गलबार आध्यात्मिक शिक्षा कार्यक्रम भएको छ ।
कार्यक्रममा जीवन विकास विशेषज्ञ श्रद्धेय भानु गुरुदेवले प्रवचन गर्नुभएको थियो ।
एक घण्टा लामो प्रवचनमा उहाँ शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित हुनुभयो । उहाँले शिक्षामा पाँच कुरा हुनुपर्ने बताउनुभयो । जसमा पहिलो खुसियालीका लागि शिक्षा , दोश्रो सृजनशीलताका लागि शिक्षा , तेश्रो जिम्मेवारीका लागि शिक्षा , चौथो सहकार्यका लागि र पाँचौ दिव्यताका लागि शिक्षा हुनुपर्ने बताउनुभयो । यी पाँच कुरा शिक्षामा हुनसके मात्रै हरेक विद्यार्थी असल नागरिक हुने र देशलाई चाहिएको जस्तो नेतृत्वकर्ता निर्माण हुने बताउनुभयो । जसका लागि आध्यात्मिक शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो । आध्यात्मिक शिक्षा बिना असल नागरिक र असल समाज निर्माण गर्न कठिन हुने उहाँको जोड थियो । मानिसले आफूले आफैलाई मूल्याङ्कन गर्न सक्नुपर्छ, आफूभित्र रहेको विषाक्त सोचबाट टाढा रहन सक्ने हो भने जीवनमा सन्तुष्टि मिल्ने उहाँले बताउनुभयो । आफूलाई चिन्न सके मात्र आफूभित्रको प्रतिभा, आफूभित्रको क्षमता चिन्न सकिने भएको हुँदा जीवन विज्ञानको माध्यमबाट आफूलाई चिन्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले म खुसी छु । म स्वस्थ छु र म शान्त छु भनेर यी तीन मन्त्र सधैँ जप्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय , सहकारी , सरकारी कार्यालयका कर्मचारी , धार्मिक सङ्घसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेल , गण्डकी प्रदेशसभाका पूर्व सदस्य ओमकला गौतम लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सहभागीहरूले आफ्नो जिज्ञासा समेत राखेका थिए भने , उक्त जिज्ञासाको भानु गुरुदेवले सम्बोधन गर्नुभएको थियो ।
देवचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पार्वता तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै नगर प्रमुख हरि प्रसाद न्यौपानेले आफू के हो भन्ने कुरा चिनेपछि मात्रै अरुलाई सिकाउन सकिने सन्देश कार्यक्रमबाट पाएको बताउनुभयो । कार्यक्रमबाट हाम्रो शिक्षामा धेरै सुधार गर्नुपर्ने कुरा जानकारी भएकोले पालिकादेखि केन्द्रसम्म शिक्षाको विकास र आध्यात्मिक शिक्षा कार्यान्वयन गर्न पहल गर्ने समेत उहाँले बताउनुभयो ।
देवचुली नगरपालिकाको आयोजना तथा जीवन विज्ञान जिल्ला परिषद नवलपुरको समन्वयमा कार्यक्रम भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस