कावासोती चारमा रहेको नवदुर्गा पार्कलाई व्यवस्थीत बनाइदै

कावासोती चारमा रहेको नवदुर्गा पार्कलाई व्यवस्थीत बनाइदै

नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर चारमा रहेको नवदुर्गा पार्कलाई व्यवस्थीत बनाइदै छ ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रम अनुसार अहिले नव दुर्गा पार्कमा बालबालिका खेल्ने मनोरञ्जनका सामग्री तथा खुला व्यायामशाला निर्माण कार्य भएको छ । बालबालिकाहरूका लागि चिप्लेटी , रोटे पीङ , लगायतका खेल्ने सामग्री राखिएको छ भने खुला व्यायामशालाका लागि विभिन्न आवश्यक सामग्री राखिएको छ ।
यस अघि स्थानीय पालिका तथा अन्य सहयोगी संस्था समेतको सहयोगमा पार्क क्षेत्रमा तारबार लगाउने , पिकनिक स्पटका लागि टहरा निर्माण र बस्ने कुर्सीको व्यवस्थापन गर्ने कार्य भएको थियो । अहिले उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारबाट १० लाख विनियोजन भएपछि पार्कमा बालबालिकाका लागि फाइबरको खेल्ने सामग्री तथा खुला व्यायामशाला निर्माण गरिएको हो ।
सडकमा खेल्ने बालबालिकाहरूका लागि पार्कमा खेल्ने वातावरण बनोस भन्ने उद्देश्यले पार्क निर्माणको कार्यलाई प्राथमिकता दिएको कावासोती वडा नम्बर चारका अध्यक्ष नारायण प्रसाद लोहनीले बताउनुभयो । बालबालिकाको लागि मनोरञ्जन आवश्यक पर्ने र व्यायामशाला निर्माणले अन्य व्यक्तिहरूका लागि स्वास्थ्य राख्न मदत गर्ने भएकाले वडाले पार्क निर्माणलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायमा पहल गर्ने काम गरेको र अहिले काम सुरु भएको लोहनीले बताउनुभयो । नवदुर्गा पार्कलाई पिकनिक स्पटका रुपमा व्यवस्थीत गर्दै पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेकोले सोही अनुसार यस पार्कलाई व्यवस्थीत गर्ने काम भइरहेको अध्यक्ष लोहनीले बताउनुभयो । पार्क भएको स्थान वडाको मुख्य सडक भएर आवतजावत गर्नेहरूका लागि समेत पायक पर्ने भएकाले यहाँ आएर शान्त , मनोरम वातावरणमा एकछिन बसेर थकान मेट्न समेत सकिने उहाँको भनाई छ ।
पार्कलाई सोचे अनुसार निर्माण गर्नका लागि करिव ६० लाख खर्च लाग्ने अनुमान गरिएकाले त्यसका लागि वडा र पालिका मार्फत बजेट कार्यक्रम बनाउने र सम्बन्धित निकायमा थप बजेटका लागि पहल गर्ने काममा आफू लाग्ने अध्यक्ष लोहनीले बताउनुभएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस