नवलपुर । नवलपरासी पूर्व (नवलपुरमा) एक वर्षको अवधीमा वैदेशिक रोजगारीका क्रममा ४० जनाले ज्यान गुमाएका छन् ।
सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रमको आज कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कार्यक्रम संयोजक ऋतुराम सोतीले वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक २०८० ०८१ मा नवलपुरका ४० जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ३६ जना पुरुष र ४ जना महिला रहेका छन् । यो सङ्ख्या सहयोगका लागि आप्रवासी श्रोत केन्द्रमा आएको केशको सङ्ख्या हो ।
कावासोती नगरपालिकाका ९ जना पुरुष एक जना महिला गरि १० जना , गैडाकोट नगरपालिकाको तीन जना पुरुष , मध्यविन्दु नगरपालिकाको ९ जना पुरुष एक जना महिला गरि १० जना , विनयी त्रिवेणी गाउँपालिकाको दुई जना पुरुषको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ भने , अन्य पालिकाको १५ जना गरेर ४० जनाले वैदेशिक रोजगारीकाक्रममा ज्यान गुमाएका हुन् । मृत्यु भएका ४० जना मध्ये २२ जनाको केश समाधान भएको कार्यक्रम संयोजक सोतीले बताउनुभयो । सामी कार्यक्रमले मृतकको शव नेपाल आउने देखी लिएर मृतकको परिवारले पाउनुपर्ने क्षतिपुर्ती बापतको रमक सबै पाएको केशलाई समाधान भएको केशका रुपमा राख्ने गरेको सोतीले बताउनुभयो । बाँकी रहेको २८ वटा मृत्युको केशमा आर्थिक सहायता रकम नपाएको र तीन वटा शव नेपाल नआएको केश रहेको उहाँले बताउनुभयो ।
आप्रवासी श्रोत केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले गएका वर्षहरूमा मृत्यु हुनेमा पुरुषको सङ्ख्या मात्रै हुने गरेकोमा यस वर्षमा चार जना महिलाको समेत वैदेशिक रोजगारीका क्रममा मृत्युको केश आएको बताउनुभयो । उहाँले ४० जना मृतक मध्ये तीन जनाको मात्रै शव नेपाल नआइपुगेको अन्य ३७ जनाको शव नेपाल आइसकेको जानकारी दिनुभयो । शङ्कास्पद मृत्यु भएकाहरूको अनुसन्धान प्रकृया लामो हुने , अनुसन्धान नसकिएसम्म नेपाल ल्याउन नपाइने जसका लागि नौदश महिना नै लाग्ने भएकाले ती शव नेपाल ल्याउन नसकिएको उहाँले बताउनुभयो ।
एक वर्षको अवधीमा १५ जना जेल गएको , १३९ जनाको ठगी , ४० जना बिरामी र उघार गरिदिन भनी ७ जना र अन्य ७ वटा केश आप्रवासी श्रोत केन्द्रमा आएको कार्यक्रम संयोजक सोतीले जानकारी दिनुभयो । जसमध्ये ठगीको ४३ , जेल ४ , बिरामी १० , उद्धार ४ र अन्य दुई वटा केश समाधान भएको बताउनुभयो । आप्रवासी श्रोत केन्द्रमा आएको केशमा सबैभन्दा बढी ठगीका केश आएका छन् । पछिल्लो समय युरोपका देशमा लैजाने भनेर लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह नै सक्रिय भएको सोतीले बताउनुभयो । युरोप कन्ट्रीमा जाने प्रलोभनमा परेर कुनै पनि सबुत प्रमाण बिनै पैसा दिने गर्दा लाखौँ रुपैयाँ ठगिएका केसहरू आउने गरेको उहाँले बताउनुभयो । राहदानी बनाउन आउने समयमा नै आप्रवास श्रोत केन्द्रमा परामर्शमा आएका व्यक्तिहरूलाई युरोप कन्ट्री जाने भनेका व्यक्तिहरूलाई पटक पटक सबुत प्रमाण बिना पैसा नदिन भनिएपनि उनीहरूले वेवास्ता गर्ने तर त्यसको केही समयपछि ठगीएको भन्दै सहयोगका लागि आउने गरेको उहाँको भनाई छ । सोतीले युरोप कन्ट्री वा अन्यत्र कुनै पनि देश जान खोजेका जो कोहीले पनि सबुत प्रमाण बिना एजेन्टलाई पैसा नदिनका लागि समेत आग्रह गर्नुभयो ।
यसैगरी सामी कार्यक्रम अन्तरगत सीप तालिमका लागि ३८ जनाको सिफारिस गरिएको ,१२१ जनालाई मनोसामाजिक परामर्श गरिएको , १३० जनालाई वित्तीय साक्षरता तालिम प्रदान गरिएको समेत सोतीले बताउनुभयो ।
कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख फूक कुमारी थनेत , प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली र संचारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले सरकारले सामी कार्यक्रमलाई प्राथमिकता दिएर सबै ७७ वटै जिल्लामा संघ र पालिकाको बजेट साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने भनेकाले यो कार्यक्रम कावासोतीले पनि प्राथमिकतामा राखेको बताउनुभयो । सदरमुकामको पालिका भएकाले पनि कावासोतीलाई जिम्मेवारी लिएर काम गर्नेु पर्ने देखिए पनि संघको बजेट भोलीका दिनमा निरन्तरता हुने नहुने निश्चित नहुँदा पालिका स्तरबाट गर्न सकिने नसकिने अहिल्यै भन्न सक्ने अवस्थामा नरहेको प्रस्ट पार्नुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत लिलालराज पौडेलले पनि संघ सरकारबाट बजेट साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लाई खासै समस्या नरहेको तर पछि पालिका आफैले मात्रै गर भन्दाको दिनमा पालिकाको श्रोतले गर्न सक्ने नसक्ने अहिल्यै भन्न नसकिने तर्क गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले सामी कार्यक्रमले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएक समस्याको उजागर गर्दै समाधान समेतको पहल गर्दै आएको कारण यसको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।