
नवलपुर । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना , परियोजना कार्यान्वयन एकाइ नवलपुरले एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ ।
जस अन्तरगत अहिले यहाँका किसानहरूले व्यवहारिक रूपमै अभ्यासको काम गरिरहेका छन् ।
कावासोती १६ का २६ जना किसान (आइपिएम) कृषक पाठशालामा आबद्ध भएर काम गरिरहेका छन् ।
१६ हप्तासम्म सञ्चालन हुने यस पाठशाला अन्तरगत प्रयोगात्मक अभ्यासका लागि ( तीन कठ्ठा ) जग्गामा परम्परागत तरिका र आइपिएम दुवै तरिकाबाट तरकारी रोपिएको छ । यहाँ मुख्य अभ्यास काउलीमा गरिएको छ । भने बन्दा , टमाटर , खुर्सानी लगायतका तरकारीमा पनि अभ्यास गरिएको छ ।
तालिममा आइपिएम सहजकर्ता सृजना कँडेलले आइपिएम प्रविधिको महत्व, प्रयोग विधि तथा यसबाट हुने फाइदाबारे विषेश कक्षा सञ्चालन र व्यावहारिक रूपमै फिल्डमै काम गरेर जानकारी प्रदान गर्नुभएको छ । रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य, माटो र वातावरणमा पार्ने नकारात्मक असरबारे सचेत गराउँदै यस विधिमा जैविक तथा प्राकृतिक विधिबाट कीरा नियन्त्रण गर्ने उपायहरू सिकाउने र रोप्ने तरिका तथा मलजलको प्रयोग विधि लगायतका बारेमा जानकारी गराउनुभएको छ । स्वस्थबाली उत्पादन, शत्रुजीवको व्यवस्थापन, मित्रुजीवको संरक्षण, बालीको नियमतिर अवलोकन, बजारमुखी उत्पादन, किसानलाई दक्ष बनाइनु आइपिएमको सिद्धान्त रहेको र सोही अनुसार १६ हप्तासम्म पाठशालामा काम हुने सहजकर्ता कंडेलले बताउनुभयो ।
तालिमका क्रममा किसानहरूले काउली, बन्दागोभी, खुर्सानी, टमाटरलगायतका तरकारी बालीमा आइपिएम विधि र परम्परागत खेती प्रणाली दुवै प्रयोग गरी व्यवहारिक अभ्यास समेत गरेका छन् । जसबाट उत्पादन दिएपछि कुन विधिबाट राम्रो उत्पादन हुने रहेछ त भन्ने कुरा किसानले आफैँ अनुभव गर्नेछन् ।
अहिले पाठशालामा आबद्ध भएका किसानहरूले ( पौरखी आइपिएम कृषक समूह ) गठन गरी काम गरिहरेका छन् । समूहका अध्यक्ष रामकृष्ण अधिकारीले आइपिएम सम्बन्धी पाठशालामा सहभागि भएपछि व्याड बनाउने , त्यसलाई जोगाउने, हुर्काउने र कसरी रोपाईं गर्ने भन्ने कुराहरु सिकेको बताउनुभयो । रोपेको बिरुवाहरूमा मलजल राख्ने तरिका देखि वानस्पतिक मल बनाउने विधिहरु समेत तालिममा सिकेको उहाँले बताउनुभयो । पछिल्लो समय रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य संगै वातावरणमा समेत नराम्रो असर पारेको हुँदा अब अग्र्यानिक खेतीतर्फ किसानलाई आकर्षित गर्न आइपिएम पाठशाला सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना , परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीले बताउनुभयो । कार्यालयले पाठशालाकै रुपमा पहिलोपटक यो कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ । विषेश गरी तरकारीलाई फोकस गरेर आइपिएम पाठशाला सञ्चालन गरिएको उहाँले बताउनुभयो । जसका लागि एक लाख ८२ हजार रुपिँया बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
