नवलपुरका किसानलाई तरुल बिक्री गर्ने चटारो

  • नवलपुर आज
  • २०८१ पौष २६, शुक्रबार (१ महिना अघि)
  • १०७ पटक पढिएको
नवलपुरका किसानलाई तरुल बिक्री गर्ने चटारो

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका–५, बबोकका किसान लीला बहादुर रानालाई अहिले आफूले उत्पादन गरेको तरुल बिक्री गर्ने चटारो छ । उनी जस्तै माघेसङ्क्रान्ति नजिकिँदै जाँदा तरुल खन्न र बिक्री गर्न नवलपुरका पहाडी क्षेत्रका किसान व्यस्त बनेका छन् ।
माघेसङ्क्रान्तिमा तरुलको माग धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजार सम्म लैजाने काम गरिरहेका छन् । जसले किसानलाई आम्दानी सहित माघेसङ्क्रान्ति मनाउन र घरखर्च चलाउन समेत सहयोग पुगेको छ ।
लीला बहादुर जस्तै धौवादीका अर्का किसान शेर बहादुर रानाले समेत तरुल बेचेर आम्दानी गर्दै आएका छन् । जसले घरखर्च चलाउन सहयोग पुगेको उनी बताउछन् ।
जिल्लाको पहाडी क्षेत्रमा धेरै जसो किसानले तरुल लगाउने गरेका छन् । अदुवा खेतीसँगै तरुल लगाउने गरेको किसान शेर बहादुरले बताए ।
नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल अहिले दैनिक जसो जिल्लाको मुख्य बजार कावासोती र दलदलेमा आउने गरेको छ । तरुल जिल्ला बाहिर निर्यात गर्दै आएका थोक बिक्रेता कृष्ण सारूका अनुसार जिल्लाबाट अहिले सम्म करिब ५० मेट्रिक टन तरुल काठमाण्डौं र पोखरा निर्यात भएको छ । अझै पनि किसानले तरुल खन्ने र बिक्रीका लागि बजारसम्म ल्याउने गरेको र यो क्रम पुस महिना भरि चल्ने उनको भनाई छ । किसानबाट खरिद गरेको तरुल प्रति किलोग्राम रु. ६५ देखि ७० सम्ममा जिल्ला बाहिर निर्यात गर्ने गरेको उनले जानकारी दिए ।
जिल्लाको पहाडी क्षेत्रमा मोडे तरुल, वन तरुल, , हात्तीपाइले तरुल , चक्रे तरुलको खेति हुने गर्दछ ।
कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद शर्माका अनुसार रैथाने बाली प्रवद्र्धनको समग्र कार्यक्रम जिल्लामा भए पनि तरुल खेती मात्रैका लागि कुनै कार्यक्रम छैन् ।
गत वर्ष नवलपुरमा ५५ मट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा करिब चार हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्ले बताउँदछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस