नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अब भने पूर्ण रुपमा उज्यालो गाउँपालिका भएको छ ।
विनयी त्रिवेणीको तीन नम्बर वडामा रहेको साविक राकाचुलीमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत वितरण गरिएपछि विनयी त्रिवेणी गाउँपालिका पूर्ण रुपमा उज्यालो गाउँपालिका भएको हो ।
साविक राकाचुलीमा केन्द्रीय प्रसारण लाइनको विद्युत वितरण भएपछि विनयी त्रिवेणी गाउँपालिकाको सबै घरधुरी उज्यालोमा बस्न पाउने भएका छन् ।
मध्यविन्दु १४ द्धारी र विनयी त्रिवेणीकै सर्दीबाट केन्द्रीय प्रसारण लाइन जडान गरि विद्युत् आपुर्ति गरिएको हो । गाउँमा विद्युत पुगेपछि यहाँका १ सय २८ घरधुरी लाभान्वित भएका छन् ।
यहाँको राकाचुली , चन्दनटार , ओखरे, अनिकरम , चकमक , कुडापानी , ढाव , मिहीडाँडा , रुमसिङघाट लगायतका १० गाउँका बासिन्दा अब २४ सै घण्टा उज्यालोमा बस्न पाउने भएका छन् ।
उज्यालो गण्डकी प्रदेश कार्यक्रम अन्तरगत विनयी त्रिवेणी गाउँपालिका तीनको एक सय अट्ठाइस घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत वितरण गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । ५० वर्षदेखि शुद्ध खानेपानीको पर्खाइमा बसेको साविक राकाचुलीका बासिन्दालाई गत वर्ष खानेपानी पु¥याएर सहज रुपमा खानेपानीको व्यवस्था गर्न सफल भएकोमा यस वर्ष विद्युत पु¥याएर पालिकाको विकट क्षेत्रमा विकासको अनुभुति दिलाउन सफल भएको अध्यक्ष गिरीले बताउनुभयो । गत वर्ष पाँच नम्बर वडाको साविक धुर्कोटको ११ गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेर विद्युत वितरण भएको र अहिले साविक राकाचुलीमा विद्युत वितरण भएपछि आफूले निर्वाचनका बेलामा गरेको उज्यालो पालिकाको बाचा पुरा भएको अध्यक्ष गिरीले बताउनुभयो । पालिकाका सबै घरधुरीमा विजुली पुगेपनि भोल्टेजको समस्या भने कायमै रहेको हुँदा निकट भविष्यमा नै यो समस्या समाधान गर्नका लागि पहल भइरहेको गिरीको भनाई छ । उहाँले सर्दीमा निर्माणाधीन शव स्टेसनको निर्माण सम्पन्न भएपछि नयाँ तारपोलको व्यवस्थापन गरिने , जसबाट भोल्टेजको समस्या समेत समाधान हुने बताउनुभयो ।
अब २४ सै घण्टा विजुली बल्ने भएपछि साविक राकाचुलीका स्थानीयले खुसी व्यक्त गरेका छन् । वडा सदस्य समेत रहेका कुडापानी निवासी यम बहादुर कामुले विद्युत भएपछि अब धेरै कुरामा सहज हुने बताउनुभयो । उहाँले अन्धकारबाट उज्यालोमा बस्न पाइनु नै सबैभन्दा खुसीको कुरा भएको बताउनुभयो । गाउँमा विद्युत् आएपछि अब व्यवसायिक रूपमै खेतीकिसानी गरेर आयआर्जनमा जोडिन मदत पुग्ने बताउनुभयो । ‘अब विद्युतबाट मोटरले पानी तानेर सिंचाइ गर्न सकिन्छ , पानी नहुँदा खेतबारी बाझै थिए , अब त विभिन्न तरकारी, मकै लगायतका खेतीपाती गरेर आम्दानी लिन पाइन्छ । ’ कामुलेले भन्नुभयो । विद्युत पुगेपछि अब गाउँमा अन्य विकास निर्माणको काममा समेत सहयोग पुग्ने आशा राखेको काम्मुले बताउनुभयो ।
यसैबीच विनयी त्रिवेणी गाउँपालिका तीनको अनिक्रममा सोमबार विद्युत प्रसारण लाइन उद्घाटन कार्यक्रम गरिएको छ । पालिका अध्यक्ष घनश्याम गिरीको अध्यक्षता तथा गण्डकी प्रदेशकी कृषि सहकारी तथा भूमी व्यवस्था मन्त्री पद्मा जिसी श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । प्रमुख अतिथि कृषि सहकारी तथा भूमी व्यवस्था मन्त्री पद्मा जिसी श्रेष्ठले बत्तिको स्विच अन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पद्मा जिसी श्रेष्ठले विकासको सवालमा प्रदेश सरकार सदैव जनतासँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । जनताको चाहाना र इच्छा अनुसार नै विकास निर्माणका काममा प्रदेश सरकार समन्वय र सहकार्य गर्दै अघि बढ्ने उहाँको भनाई थियो । वर्षैबाट अन्धकारमा बसिरहेका बासिन्दाका लागि उज्यालो प्रदान गर्न पाउँदा खुसी लागेको भन्दै उहाँले यहाँ आवश्यक पर्ने विकासमा योजनाहरुमा प्रदेश सरकार र आफ्नो मन्त्रालयबाट सकेको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उज्यालो अभियानमा अभियन्ताकै रुपमा परिचित रहनुभएका गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले सर्दी क्षेत्रलाई उज्यालो बनाउने आफ्नो सपना साकार भएको भन्दै आफ्नो क्षेत्रको विकासका लागि आफूले सकेको प्रयास गरेको र गरिरहने बताउनुभयो । यस क्षेत्रमा खानेपानी र विद्युतको समस्या समाधान भएको , अब स्वास्थ्य , शिक्षा र बाटाघाटोमा सुधार र विकास गर्न बाँकी रहेकोले यो काम पनि सकेसम्म छिटो समपन्न गर्नेगरि आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य कृष्ण प्रसाद पौडेल , गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचाल , गाउँपालिका उपाध्यक्ष भगवती वैदवार लगायत अध्यक्षहरु, वडा सदस्यहरु , कर्मचारी, बिधुत प्राधिकरण कावासोतीका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेका स्वकीय सचिव यादव पौडेलले सहजीकरण गर्नुभएको थियो ।