कावासोतीमा बन्ने प्रहरीको नमुना पेट्रोल पम्प शिलान्यास

कावासोतीमा बन्ने प्रहरीको नमुना पेट्रोल पम्प शिलान्यास

ज्ञानु पंगेनी , कावासोती । नेपाल प्रहरीले नवलपुरको कावासोतीमा खोल्न लागेको अत्याधुनिक सुविधा युक्त नमुना पेट्रोल पम्पको शुक्रबार शिलान्यास गरिएको छ ।
एक समारोहबीच एआईजी टेक प्रसाद राईले पेट्रोल पम्पको शिलान्यास गर्नुभएको हो । विधिपूर्वक पूजाअर्चना गरि उहाँले जग हाल्ने कार्यको सुरुआत गर्नुभएको हो ।
कावासोती –२ स्थित जिल्ला प्रहरी कार्यालयको नाममा रहेको खूल्ला मैदानका नामले परिचित ठाउँमा एक बिगाहा २ कठ्ठा १७ धुर जग्गामा पेट्रोल पम्प निर्माण हुन लागेको हो ।
शिलान्यास पछि सम्बोधन गर्दै एआईजी राईले प्रहरीले पेट्रोल पम्प खोलेर ब्यापार गर्न लागेको भनेर विभिन्न टिकाटिप्पणी भएको भन्दै उहाँले , प्रहरीले नाफाका लागि नभइ सामाजिक कार्यका लागि पेट्रोल पम्प खोल्न लागेको बताउनुभयो । अहिलेको सयमा पेट्रोल अत्यावश्यकीय पदार्थ बनेको र बन्द हड्ताल जस्ता अप्ठेरो समयमा प्रहरीको पेट्रोल पम्प बन्द नहुने भएकाले यसबाट उपभोक्तालाई नै सहयोग पुग्ने बताउनुभयो ।
प्रहरीले पेट्रोल पम्प खोलेपछि आसपास टहरामा व्यापार व्यवसाय गरेर बसेकालाई उठाउँछ भन्ने हल्ला पनि फैलिएको भन्दै उहाँले प्रहरीले कोही कसैलाई त्यसै दुख नदिने , सबै पक्षसँगको सहकार्यमा छलफल गरि त्यस्ता व्यवसायीको उचित व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले पेट्रोल पम्प आसपास रहेका स्थानीयवासी सँग समेत समन्वय, सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
‘पेट्रोल पम्पका लागि कहाँबाट बजेट आयो भन्ने जिज्ञासा समेत आम जनतामा होला हामी प्रहरी शान्ति सेनामा जाँदा पाएको केही रकम कोषमा जम्मा हुन्छ , त्यही बचत भएको कोषको ब्याजबाट हामीले यस्ता काममा लगानी गर्छौँ , यहाँ बन्ने पम्प पनि त्यही बजेटबाट बन्ने हो । ’ राईले भन्नुभयो – ‘प्रहरीले अस्पताल , विद्यालय पनि खोलेको छ त्यस्ता विद्यालयमा प्रहरीको मात्रै होइन अन्य नागरिकका छोराछोरी पनि पढ्न पाउँछन् । तर हामीले अमर प्रहरीका परिवारलाई प्राथमिकतामा राख्छौ । जसले देश र जनताको लागि आफ्नो जीउज्यानको बलिदान दिनुभयो । अङ्गभङग हुनुभयो त्यस्ता परिवार हाम्रो पहिलो प्राथमिकतामा हुन्छ । ’
कार्यक्रममा अतिथिका रुपमा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले कावासोतीको मुटुमा पर्ने ठाउँमा पेट्रोल पम्प बन्दै गर्दा यहाँका नागरिक जनप्रतिनिधि सबैको भावनामा ठेस नपुग्ने गरि निर्माण सम्पन्न हुनेछ र सञ्चालन हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले पेट्रोल पम्प निर्माण सम्बन्धी जानकारी दिदैँ , यही भदौ दुई गते , १० करोड ९९ लाख ५५ हजार रुपैयाँ लागतमा एक वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरि नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण महाशाखा र एनसी अल्फा हेड्स तेजश्वि जेभी चौरी देउरालीबीच सम्झौता भएको जानकारी दिनुभयो ।
सम्झौता बमोजिक विद्युतीय सवारी साधन चार्जिङ स्टेशन , एटिएम सेन्टर , सवारी साधन मर्मत सेन्टर , सुन्दर बगैँचा सहितको पार्किग , कार्यालय भवन तथा प्रहरी कर्मचारी सहितको आवास भवन समेत निर्माण हुने उहाँले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस