कावासोती । हाई भोल्टेज विद्युत प्रवाह हुँदा विद्युतीय सामग्रीमा क्षति पुगेका उपभोक्ताहरुले आज विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रमा ध्यानाकर्षण गराएका छन् ।
विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रमाका प्रमुख सूर्यनारायण मण्डलाई भेटेर उनीहरूले क्षति पुगेको उपभोक्ताहरूको तथ्याङ्क सङ्कलन गरेर तत्काल क्षतिपुर्ती उपलब्ध गराउन माग गरेका छन् । भने आगामी दिनमा यस प्रकृतिको घटना दोहोरिन नदिन प्राधिकरणबाट नियमित रुपमा निगरानी गर्न समेत भनेका छन् ।
पीडित व्यक्तिहरू घनश्याम भुसाल , दिपेन्द्र मरासिनी , भरत न्यौपाने , कृष्ण मरासिनी , राम प्रसाद अधिकारी , तारा पौडेल , टङ्क पौडेल लगायत २५ जनाको टोली कार्यालय प्रमुखसँग विद्युत् प्राधिकरणबाट भएको लापरबाहीकै कारण यति धेरै भौतिक क्षति हुन पुगेको भन्दै दक्ष जनशक्ति मात्रै काममा लगाउन समेत माग गरेका छन् । यस किसिमको लापरवाहीले म ठूलो मानवीय क्षति हुन सक्ने भन्दै आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन समेत आग्रह गरेका छन् । भने लाइनको काम गर्न आउने केही कामदारले बिहानैदेखि मादक पदार्थ सेवन गरेर काम गर्ने गरेको पाइएकोले त्यस्ता कामदारको व्यवस्थापन गर्न पनि भनेका छन् ।
विद्युत प्राधिकरण कावासोतीका प्रमुख मण्डलले भने कार्यालयको गल्ती नभएको बताउँदै पन्छिन खोजेका छन् । हिजोको घटना निर्माण व्यवसायीको तर्फबाट काम गर्ने कर्मचारीका कारण भएको बताउनुभयो । नवदुर्गाचोकमा रहेको ट्रान्सफर्मरबाट लाइन जोड्नेक्रममा न्युटनमा जोड्नुपर्नेमा फेजमा जोडन जाँदा हाई भोल्टेज प्रवाह भएको उहाँले बताउनुभयो । उक्त कर्मचारीको नाम भने बताउन चाहनुभएन , ती कर्मचारी विद्युतको नभई निर्माण व्यवसायीको तर्फबाट काम गरिरहेको उहाँको भनाई छ । निर्माणको जिम्मा पाएको व्यक्तिको हुन भनेर सोध्दा पनि आफूलाई जानकारी नभएको प्रतिकृया दिनुभएको छ ।
पीडित पक्षले निर्माण व्यवसायी समेतसंग बसेर छलफल गर्न माग गरेपछि कार्यालय प्रमुख मण्डलले भोलि नै सबै पक्षसँग बसेर छलफल गरेर क्षतिपुर्ती उपलब्ध गराउने प्रकृयामा जाने बताउनुभएको छ । उहाँले क्षति के कति भएको हो त्यसको तथ्याङ्क सङ्कलन गरेर , आवश्यक प्रकृया पुरा गर्ने र प्राधिकरण , निर्माण व्यवसायी , स्थानीय सरकार र सरोकारवाला सबैको संलग्नतामा छलफल गरेर निचोडमा पुग्ने बताउनुभएको छ ।
कावासोती तीनमा केही समय अघिदेखि नयाँ पोल गाडेर तार टाँग्ने काम चलिरहेको छ । उक्त काम प्रगतिनगर स्थित शव स्टेसन मार्फत निर्माण व्यवसायीलाई ठेक्का दिएको हुँदा त्यसको जिम्मेवार प्राधिकरण कावासोती नरहेको प्राधिकण प्रमुख मण्डलको जवाफ छ ।
कावासोती ३ को केही भागमा हिजो हाई भोल्टेज विद्युत प्रवाह हुँदा लाखौँको विद्युतीय सामाग्रीमा क्षति पुगेको थियो ।
कावासोती नवदुर्गा चोक, आरम्भ एकेडेमी सहिद स्मृती विद्यालय क्षेत्रको आसपासको करिव ५० बढी घरको विद्युतीय सामग्रीमा क्षति पुगेको थियो ।
नव दुर्गा चोकमा मिष्ठान्न पसल र दुग्ध डेरी सञ्चालन गर्नुभएका कृष्ण मरासिनीको डिस्प्ले काउन्टर , फ्रिज , डिफ्रिज , बल्ब , पङ्खा लगायतका सामाग्रीमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार करिव पाँच लाख बराबरको क्षति पुगेको छ ।
त्यस्तै डिलर सञ्चालक राजु अधिकारीको एसी, ल्यापटप पङ्खामा क्षति पुगेको छ भने , राधिका पोख्रेलको बल्ब , पङ्खामा क्षति पुगेको बताउनुभयो । यस्तै रामकृष्ण पुडासैनीको एसी , बल्बमा क्षति पुगेको छ भने , सावित्री घिमिरेको दुई वटा पङ्खा र बल्बमा क्षति पुगेको छ । अन्य ५० बढी उपभोक्ताहरूका लाखौँ रुपैयाँ पर्ने विद्युतीय सामग्रीमा क्षति पुगेको छ ।