नवलपुर । पश्चिमाञ्चल यातायात व्यवशायी समितिले नवलपुरको देवचुली नगरपालिका वडा नं. १७ झराईखोलामा सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाईदिएको छ ।
धर्मकाँटाको नाममा अनेकौं बिकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्मकाँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरितन्त्र र गुण्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
चितवनको आँपटारीमा सरकारी धर्मकाँटा भएकाले यहाँ खुलेआम लुट मच्चाउन धर्मकाँटा नचाहिने प्रहरीको भनाई छ । धर्मकाँटाले नेपालीभन्दा पनि भारतीय ट्रकहरुलाई लुटेको रेग्मीले बताए ।
‘धर्मकाँटा राखेर तौल गर्नु, बढी तौल बोक्नेलाई नियन्त्रण गर्नुे राम्रो उद्देश्य भए पनि उद्देश्य विपरितका क्रियाकलाप बढी भयो, रेग्मीले भने, ‘यो काम राज्यको नियन्त्रणमा हुनुपर्छ, तर यहाँ बढी तौल भयो भन्दै हजारौं जरिवाना गर्ने गरेर रकम कुम्ल्याउने काम मात्र भएको छ ।’
ठिक्क तौल भएका गाडीहरलाई पनि बढी तौल भयो भनेर रकम लुट्न खोज्ने, पैसा दिन नमाने चिट काटेर दुःख दिने गरेको प्रहरीको भनाइ छ । मुख्य राजमार्गभन्दा एक किलोमिटर भित्र धर्मकाँटा हुनु पर्ने मापदण्ड भए पनि यो भने पाँच सय मिटरको दुरीमा भएकाले मापदण्ड विपरित सञ्चालन गरीएको रेग्मीले बताए ।
खुलेआम लुट मच्चाएको भन्दै प्रहरीले तीन पटकसम्म कर्मचारीहरुलाई नियन्त्रणमा लिइ सम्झाई बुझाई गरेर छोडे पनि नियन्त्रण नभएको जिल्ला ट्राफिक प्रमुख अच्युतराज आचार्यले बताए । धर्मकाँटा राखेको स्थानमा ट्राफिक प्रहरीको पनि उपस्थिती नभएकाले बेथिती थप मौलाएको उनको भनाई छ ।
ट्रकहरुलाई कारवाही गर्दा दैनिक ७,८ हजार रुपैयाँ उठ्ने गरेको पश्चिमाञ्चल व्यवशायी समितिका उपाध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए । त्यो रकम पश्चिमाञ्चल व्यवयशाी समितिको खातामा जम्मा हुने गरेको उनको भनाई छ । जसको कार्यालय लुम्बिनी प्रदेशको बुटबलमा छ ।
यसअघि पनि कार्यालय गण्डकी प्रदेशमा राखेर रकम भने लुम्बिनी प्रदेशले लैजाने गरेको भन्दै जिल्लामा चर्को बिरोध हुँदै आएको थियो । ८,९ वर्षदेखि यहाँ धर्मकाँटा सञ्चालन भइरहेको बताइएको छ । धर्मकाँटा राख्ने ठाउँ वडा नं. १७ का वडाअध्यक्ष गणेश शर्मा चालिसेले मासिक ७० हजार रुपैयाँ माडा लिएर उपलब्ध गराएका हुन् । समाचार सेवाबाट साभार