कावासोती । कृषि ज्ञान केन्द्र नवलपुरले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ ।
कृषक, कृषि फर्म कम्पनी , कृषक समूह तथा सहकारी संस्था मध्येबाट चार वटा जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिने कृषि ज्ञान केन्द्रका प्रमुख कूल प्रसाद तिवारीले जानकारी दिनुभयो ।
ज्ञान केन्द्रले साउन ३० गते सार्वजनिक सूचना जारी गर्दै पुरस्कार कार्यक्रममा सहभागि हुन इच्छुकले आवेदन पेश गर्न सूचित गरेको छ ।
सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न भनिएको छ ।
जसका लागि उत्कृष्ट कृषि पुरस्कार सम्बन्धी मापदण्ड २०७९ को अनुसूची १ बमोजिम हुने र थप जानकारीका लागि http;|/akcnawalpur.akc.gov.np/ मा गइ उत्कृष्ट कृषि पुरस्कार सम्बन्धी मापदण्ड २०७९ डाउनलोड गरेर हेर्न सकिने जनाइएको छ ।
यस्तै मापदण्डको अनुसूची २ बमोजिमको निवेदन र अनुसूची ३ बमोजिमको निवेदन , र कृषक, कृषि फर्म कम्पनी , कृषक समूह तथा सहकारी संस्थाको हकमा , दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि , गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन , नवीकरण गर्नुपर्ने भएमा नवीकरण प्रमाणपत्रको प्रतिलिपि , कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र स्थाई लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ भने , व्यक्तिगत कृषकको हकमा निजको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र स्थाई लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।